पाँच लाख चल्ला बरामद

काठमाण्डु टुडे २०७० चैत १३ गते ८:२१ मा प्रकाशित

चितवन, १३ चैत – खुल्ला सिमाना भएको भारतबाट ठूलो सङ्ख्यामा प्रतिबन्धित कुखुराका चल्ला नेपाल भित्रिने गरेको पाइएको छ ।

निजी र सरकारी तवरबाट कडाइका साथ जाँच थालेपछि आठ महिनामा पा“च लाख अवैध चल्ला बरामद भएको ह्याचरी उद्योग सङ्घले जनाएको छ । कपिलवस्तु र रुपन्देही हुँदै नेपाल भित्रिने त्यस्ता अधिकांश चल्ला नवलपरासी क्षेत्रमा बरामद भएका छन् ।

ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषि पौडेलले नवलपरासीका प्रहरी प्रमुख विष्णुहरि गौतम र नारायणी अञ्चलका प्रहरी प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा अवैध चल्ला नियन्त्रणमा प्रभावकारी काम हँुदै आएको बताए । पौडेलका अनुसार साउनयता पाँच लाख चल्ला बरामद भइसकेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँचलाई कडाइ गरेपछि दैनिकजसो चल्ला बरामद हुँदै आएको नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतमले बताए । ‘कतिपयलाई पक्राउ गरी मुद्दासमेत चलाइएको छ’ उनले भने ।

विश्वभर नै बर्डफ्लु देखिएको देशको क्वारेन्टाइनबाट कुखुराजन्य वस्तु ओसारपसारमा रोक लगाउने गरिएको छ । पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले भारतमा बर्डफ्लुका कारण चल्ला नबिकेपछि अवैध ढङ्गबाट नेपाल भित्र्याउने क्रम बढेको बताए ।

नेपालमा हाल कुखुराको चल्लाको मूल्य प्रतिवटा रु ७० मा बिक्री हुँदै आएको छ । बरामद चल्लाको मूल्य रु तीन करोड ५० लाख बराबर रहेको छ । गत वर्ष चैत १८ गते पहिलो पटक यहाँ बर्ड फ्लु देखापरेको थियो ।

यस वर्ष रोग भित्रिन नदिन जैविक सुरक्षामा विशेष जोड दिइएको महासङ्घका उपाध्यक्ष पोख्रेलले बताए । जिल्लाका सबै व्यवसायीलाई विशेष चनाखो बन्न संघले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us