
काठमाण्डु, १३ चैत – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले विमान परिचारिकाको अभाव भन्दै आफ्ना गर्भवती परिचारिकालाई समेत विमानमा उड्न बाध्य पारेको छ ।
निगमद्वारा विमानमा महिला परिचारिका नभएको भन्दै गत फागुन १६ गते काठमाण्डुबाट मलेसियाको क्वालालम्पुरमा उडेको आरए ४१५ नम्बरको विमानमा उडेर काम गर्न गर्भवती परिचारिका अञ्जु तण्डुकारलाई बाध्य पारिएको निगम स्रोतले जनाएको छ ।
कुनै पनि परिचारिका भर्गवती भएको अवस्था छ भने चिकित्सकीय भाषामा उनी विमानमा उड्न अयोग्य ठहरिन्छन् ।
अन्तर्राष्ट्रिय वायुसेवा तथा बीमा कम्पनीको नियमानुसार गर्भवती परिचारिकालाई विमानमा उडाउन निषेध गरिएको छ ।
त्यसैले गर्भवती भएको जानकारी हुँदाहुँदै पनि परिचारिका तण्डुकारलाई विमानमा उडाउन बाध्य पार्ने अकूत सम्पत्ति कमाएको आरोपमा अख्तियारको छानविनमा परेका अप्रेसन डाइरेक्टर क्याप्टेन कृष्णबिक्रम पौडेलप्रति सो विमानका चालकद्वय क्याप्टेन प्रदीप राजभण्डारी र कोपाइलट श्यामकृष्ण धेवाजुले आपत्ति जनाएका थिए ।
निगम स्रोतका अनुसार परिचारिका तण्डुकारले धेरै पहिले नै आफू गर्भवती रहेको प्रामाणिक कागजसहित निगममा निवेदनगरिसकेकी थिइन् ।