
काठमाण्डु, १३ चैत – बिघटित संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेतासहित ८५ सभासदले चार बर्षसम्म संविधानका अन्र्तवस्तुको छलफलमा भाग नै लिएनन् ।
तिनै मध्ये १६ जना सभासद् यस पटक पनि दोहोरिएका छन् ।
संविधानका अन्तर्वस्तुकामा छलफल नगर्ने नेतामा तत्कालिन संविधानसभाको सवैभन्दा ठूलो दल एमाओवादीका अध्यक्ष प्रचण्ड, काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनालसमेत थिए ।
पहिलो संविधानसभाभर सत्ताको वरिपरी रहेका फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदारले एक दिन पनि संविधानको अन्र्तवस्तुको छलफलमा भाग लिएनन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि दिन पनि सभामा बोलेनन् ।
केही समय संवैधानिक समितिको सभापतिसमेत भएका नेपालले प्रधानमन्त्रीमा निर्वाचित भएपछि सो पदबाट राजीनामा दिएका थिए ।तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसमेत संविधानसभामा बहश गर्न नरुचाउने नेतामा पर्छन् । चारबर्षे कार्यकाल ठाकुरले पनि नबोली बिताए । संविधानसभाको रेकर्ड अनुसार चार बर्षमा एक सय २४ बैठक बोलाइएका थिए । जसमा ६ वटा बैठक सूचना टाँसेर स्थगित भएका थिए ।बाँकी एक सय १८ वटा बैठकमा कुनै न कुनै बिषयमा छलफल भएका थिए ।