सार्क शान्ति सम्मेलन सुरु

काठमाण्डु टुडे २०७० चैत १२ गते ९:१४ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, १२ चैत – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आगामी शिखर सम्मेलनलाई नागरिक समाजका तर्फबाट उपलब्धिपूर्ण बनाउनका लागि दक्षिण एसियाली शान्ति सम्मेलन बुधबारदेखि काठमाण्डुमा सुरु भएको छ ।

दुईदिने सम्मेलनमा नेपाल,भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशका नागरिक समाजका अगुवाको सहभागिता रहेको छ । साथै सम्मेलनमा यस क्षेत्रमा निःशस्त्रीकरण, लोकतान्त्रिकरण तथा सामाजिक न्यायको अभियानलाई संस्थागत विकास गर्ने बारेमा छलफल हुनेछ ।

सार्कको १८ अौं शिखर सम्मेलन नेपालमा आयोजना हुँदैछ । सम्मेलनलाई यस क्षेत्रका जनताको आर्थिक, सामाजिक अवस्थामाथि उकास्न नागरिक समाजका तर्फबाट के कस्ता सुझाव आवश्यक रहन्छ यसका बारेमा सहभागीबीच विचार आदानप्रदान हुनेछ ।

मानव अधिकार एलाइन्सद्वारा आयोजित सो सम्मेलनमा नागरिक समाजका अगुवा डा अर्जुन कार्कीले दक्षिण एसियामा लोकतन्त्रको सस्थागत उन्नति र सामाजिक न्यायका लागि नागरिक समाजले पहरेदारको भूमिका निर्वाह गरिरहेको विचार व्यक्त गरे ।

पाकिस्तानका नागरिक समाजका अगुवा करामत अलीले सामाजिक न्याय बिनाको प्रजातन्त्र कल्पनासम्म गर्न नसकिने भन्दै सामाजिक न्यायका लागि सरकारलाई उत्तरदायी बनाउने काम नागरिक समाजको हो भने ।

मानव अधिकार एलाइन्सका अध्यक्ष गणेश बिकेले शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट नेपालमा आएको लोकतन्त्र आफैँमा उदाहरणीय रहेको चर्चा गर्दै यसलाई संस्थागत गर्न भने चुनौती रहेको विचार व्यक्त गरे ।

जापानका लागि नेपालका पूर्व राजदूत डा विष्णुहरि नेपालले दक्षिण एसियामा लोकतन्त्र र सामाजिक न्यायका लागि सार्कलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष वीरेन्द्र पोखरेलले नेपालमा द्वन्द्वपछिको सामाजिक न्यायको अवस्थामा सुधार आउन नसकेको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us