उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति

काठमाण्डु टुडे २०७० चैत ११ गते ७:२६ मा प्रकाशित

three party_20110527062815काठमाण्डु, ११ चैत – संविधान निर्माण र निरन्तर संवादका लागि उच्चस्तरीय राजनीतिक समिति बनाईने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन राजनीतिक दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख तीन दलबीचको निरन्तर संवाद र छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति भएको एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए ।

सत्ता साझेदार काँग्रेस–एमालेतथा प्रमुख प्रतिपक्षी एमाओवादीका प्रमुख नेताहरुबीच संविधान निर्माणका लागि सहमतिका आधारमा यही चैत १४ गतेसम्म संविधानसभामा संसदीय समितिहरु निर्माण गर्नका लागि नाम दिने सहमति पनि भएको छ ।

बैठकमा शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने, संवैधानिक परिषद् गठन गर्ने र अन्य रिक्त पदपूर्तिका विषयमा समेत छलफल भएको छ ।

साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी ऐनलाई तत्काल निर्माण गरी अघि बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिने सहमति भएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

लामो समयपछि तीन दलका बीचमा भएको छलफलले विगतको चारबुँदे सहमतिअनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम अघि बढाउने आफूहरुको मागका सम्बन्धमा पनि सकारात्मक छलफल भएको एमाओवादीका नेता पोष्टबहादुर बोगटीले बताए ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला तथा नेकपा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल रहेका थिए भने एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागी थिए ।

छलफलमा बाँकी रहेका विषय टुङ्ग्याउन बैठक भोलि बिहान ८ बजे पुनः बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us