जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

काठमाण्डु टुडे २०७० चैत ११ गते ६:५५ मा प्रकाशित

परासी, ११ चैत – नवलपरासीको पहाडी राजमार्गअन्तर्गत बुलिङटार दलदले सडकखण्डको अर्खलामा मंगलबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

बुलिङटारबाट दलदलेका लागि आउँदै गरेको ना१ज २०७७ नम्बरको जिप अर्खला भिरबाट २०० मिटर तल खस्दा बुलिङटार बस्ने ३६ वर्षीया निमकुमारी सूर्यवंशी र डाडाँझेरी– ९ बस्ने ३७ वर्षीय जिप चालक दीपेन्द्र फालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा आठ जना घाइते भएका छन् भने घाइतेमध्ये किरण रानाभाटको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

घटनास्थल विकट पहाडी गाविस भएकाले घटनाका बारेमा ढिला थाहा भएको बताइएको छ । बुलिङटार प्रहरी चौकी र रुद्रपुर प्रहरी चौकीको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि कावासोतीतर्फ ल्याउँदै गरेको कावासोती प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us