अमेरिका, इयुद्वारा रुस विरुद्ध थप प्रतिवन्ध

काठमाण्डु टुडे २०७० चैत ८ गते २:४८ मा प्रकाशित

अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नजिकका केही धनाड्य व्यक्तीहरुमाथि प्रतिवन्ध लगाइएको जनाएको छ।

जर्मनीकी चान्सलरले बताएअनुसार प्रवेशाज्ञा निषेध र सम्पत्ती रोक्का गरिने रुसी नामहरुको नयाँ सूची प्रकाशित हुँदैछ। रुसले पनि केही अमेरिकी उच्च अधिकारीहरुलाई प्रवेश निषेध गर्ने बताएको छ।

अमेरिकाले प्रतिवन्ध लगाएका २० जना व्यक्तीहरुमध्ये राष्ट्रपति पुटिन नजिकका उच्च अधिकारी सर्गेइ इभानोभ, पुटिनका जुडो खेलका साथी अर्कादी रोटेन्वर्ग लगायत रहेका छन्। राष्ट्रपति ओबामाले रुसको अर्थतन्त्र लक्षित थप कारवाही गर्ने बारे पनि आफूले सोचिरहेको बताए।

मस्कोले तत्काल प्रतिक्रिया जनाउँदै नौ जना उच्च अमेरिकी अधिकारीहरुलाई प्रवेश निषेध गर्ने घोषणा गरेको छ।पूर्व रिपब्लिकन राष्ट्रपतिय उम्मेदवार जन मक्केन पनि त्यो सूचीमा छन्। जन मक्केनले अब आफूले साइबेरियामा मनाउने विदाको योजना रद्द गरेको भन्दै ठट्टा गरे।

ब्रसेल्समा भेला भएका इयुका नेताहरुले पनि रुसमाथि लगाउने प्रतिवन्धको दायरा फराकीलो पार्दै थप १२ जना रुसी व्यक्तीहरुको नाम प्रतिवन्धितहरुको सूचिमा राख्ने निर्णय गरेका छन्। उनीहरुले संकट थप गहिरियो भने रुसमाथि बृहद आर्थिक प्रतिवन्ध लगाउनु पर्ने सुझाव युरोपेली आयोगलाई दिएका छन्।

जर्मनीकी चान्सलर एन्गेला मर्कलले इयुले प्रवेशाज्ञा नदिने र सम्पत्ती रोक्का गरिने रुसीहरु गत साता सूचिकृत २१ जना रुसी अधिकारीहरुकै तहका हुने बताइन्। “हामीले रुसीहरुको नाम रहेको सूचीलाई अझै फराकिलो बनाउँदै अरु नामहरु थप्दै छौं, त्यो सूची प्रकाशित हुँदैछ।” उनले युक्रेनको नयाँ सरकारलाई आर्थिक सहयोग दिने बारे पनि इयु सकारात्मक रहेको संकेत दिइन्।

युक्रेनमा चाँही रुस समर्थक सशस्त्र व्यक्तीहरुले क्राइमियाको सेवास्तोपोल बन्दरगाहमा अड्याइ राखिएको कम्तीमा एक युक्रेनी नौसेनाको पानी जहाजलाई आफ्नो कब्जमा लिएका समाचार प्राप्त भएका छन्। सशस्त्र व्यक्तीहरुले दुई युक्रेनी युद्धपोतलाई पनि कब्जामा लिएको जनाइएको छ। रुस समर्थक सशस्त्र व्यक्तीहरुले क्राइमियाको सेवास्तोपोलमा एक युक्रेनी नौसेनाको पानी जहाजलाई कब्जामा लिएको बताइएको छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us