
क्राइमियामा जनमत संग्रह र उक्त प्रायद्वीप फेरि रुसको एक हिस्सा बनेको भन्ने भ्लादीमिर पुटिनको घोषणा पछि बसेको राष्ट्र संघीय सुरक्षा परिषदको पहिलो बैठकको वातावरण कडा खालको थियो।
बैठक कक्षको प्रयोग कुनै बेला शीतयुद्धको समयमा जस्तै हुन पुगेको थियो, तनाव कम गर्ने तर्फ लक्ष्यित भन्दा पनि एकअर्काप्रति आरोप प्रत्यारोप गर्नमा।
रुसका राजदूत भिताली चुर्कीनले क्राइमियाका जनताले आफ्नो धारणा स्पष्ट पारेका र आत्मनिर्णयको अधिकारको प्रयोग गरेकामा जोड दिएका थिए। उनले भने,“हिजोको दिन रुसी क्राइमियाको पुन: एकिकरणका साथ वास्तवमा नै एउटा ऐतिहासिक दिन रहयो, जस्का लागि हाम्रा जनताले छ दशक लामो प्रतिक्षा गरेका थिए। “त्यो सबै अन्तर्राष्ट्रिय कानून बमोजीम, बाहिरी हस्तक्षेप विना, प्रजातान्त्रीक प्रकृया अनुसार भएको छ र राष्ट्रसंघीय बडापत्र अनुसारको जनमत संग्रहबाट क्राइमियाका जनताले आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गरेर भएको छ।“
अमेरिकी राजदूत समान्था पावर ले त्यसप्रति प्रतिक्रिया जनाउंदै उनकै शब्दमा क्राइमियामा भएको कथित जनमत संग्रहलाई नक्कली र देखावटी भएको बताइन्।
उनको जवाफी प्रतिक्रिया थियो, “रुस उक्त देशका महान साहित्यीक हस्तीहरुका निम्ती प्रख्यात छ। तर रुसी राजदूतबाट अहिले हामीले जे सुन्यौं त्यसमा तोल्सतोय र चेखवको भन्दा पनि बढी काल्पनीकता देखिन्छ।“
कडा बचनहरु आदानप्रदान गर्ने क्रम अघि बढ्दा, रुसी राजदूतले आफ्ना अमेरिकी समकक्षीलाई, चटपटे र हल्लाहरुमा आधारित रहेर समाचार लेख्ने ट्याब्लोइड पत्रिकाहरुको स्तरमा झरेर टिप्पणी गरेको पनि भन्न भ्याए।
उनले रुसले अन्य मुद्दाहरुमा पुर्याउंदै आएको सहयोग फिर्ता लिन सक्ने चेतावनी पनि दिए, जुन इरानसंग भैरहेको परमाणु वार्ता र सिरियाका संकट प्रति घुमाउरो ढंगले गरिएको संकेत थियो। अमेरिकी राजदूत समान्था पावरले रुसी राजदूतको टिप्पणीको प्रतिवाद गरेकी थिइन्
यो सबैका माझ राष्ट्रसंघीय महासचिव बान की मून रुसी राष्ट्रपति भ्लादीमिर पुटिनसंग वार्ताका निम्ती मस्को जांदैछन्। उनको उद्देश्य क्राइमिया संकटको कुटनीतिक समाधान खोज्नु रहेको देखिन्छ।
तर रुसले क्राइमियालाई आफूमा विलय गरिसकेको घोषणा भैसकेपछि अब उनको यो प्रयास निकै ढिलो चालिएको कदमका रुपमा देखिएको छ।
यसैबीच, युक्रेनका सुरक्षा प्रमुख आन्द्रीई पारुबीईले भनेका छ्न् क्राइमिया प्राय:द्वीपलाई आफूमा विलय गराउने रुसी कदम पछि उनको सरकारले त्यहांबाट सैनिकहरु र तिनका परिवारलाई फिर्ता बोलाउने योजना गर्दैछ।
रुसले क्राइमियामा रहेका मस्को समर्थक अधिकारीहरुलाई कब्जामा लिइएका युक्रेनी नौसेना प्रमुखलाई मुक्त गर्न पनि आग्रह गरेको छ। उनलाई बुधबार नियन्त्रणमा लिइएको थियो। BBC