
सुर्खेत, २४ फागुन – पश्चिम नेपालमै पहिलो पटक यहाँको साटाखानीमा सुरु गरिएको पशु बिमा कार्यक्रम निस्क्रिय बनेको छ । बिमा कार्यक्रमका बिमा उपसमिति संयोजकको निधन भएको र किसानले पनि मासिक रुपमा उठाउनुपर्ने रकम नियमित रुपमा नउठाएका कारण कार्यक्रम निस्क्रिय बनेको हो ।
बिमा कार्यक्रम सञ्चालन गरेको स्थानीय राधाकृष्ण सहकारी संस्थाका अध्यक्ष दीपक ढकालले किसानहरुबाट मासिक रुपमा उठाउनुपर्ने रकम नियमित रुपमा नउठेको र बिमा उपसमितिका संयोजकको निधन भएकाले कार्यक्रम निस्क्रिय भएको बताए ।
पशु बिमा कार्यक्रम सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यालय सुर्खेतले सुरुमा रु ५० हजार दिएको थियो । बिमा कार्यक्रम निस्क्रिय भएपछि पहिलो पटक पशु बिमा गरी चर्चामा आएका यहाँका पशुपालक किसानहरु भने निराश भएका छन् ।
स्थानीय राधाकृष्ण दूध उत्पादक सहकारीमार्फत भैंसी र गाईको बिमा गरेका साटाखानी–५ का किसानहरुले पशु बिमा कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन् ।
वि.सं. २०६३÷६४ मा पश्चिम नेपालमै पहिलो पटक पशु बिमा गरेका उनीहरुले एउटा भैंसीको पटकपटक एक÷एक हजारका दरले रकम तिरेका थिए । त्यसबेला ३५ वटाभन्दा बढी भैंसी र केही गाईको बिमा गरिएको थियो ।
पहिलो र नमुना कार्यक्रम भन्दै निकै हौसिएर भैँसी बिमा गरेका यहाँका कृषकहरुले आफ्नो भैंसीलाई रोग लाग्दा उपचार खर्च र क्षतिपूर्तिसमेत नपाएको गुनासो गरेका छन् ।
दुर्ई वटा भैंसीको बिमा गर्र्नुभएका साटाखानी–५ का कृषक नन्दलाल तिवारीले आफ्नो भैंसीको खुट्टा भाँचिदा पनि उपचारको सुविधा नपाएको भन्दै अब बिमा नै नगर्ने बताए ।
पछिल्लो समय सरकारले ल्याएको कृषि बिमाको कार्यक्रम पनि प्रभावकारी हुनेमा किसानहरुले शङ्का व्यक्त गरेका छन् ।