दाइजो लिनेले तिरे, ढेड लाख धरौटी

काठमाण्डु टुडे २०७० फागुन २१ गते ५:२८ मा प्रकाशित

राजविराज, २१ फागुन– सप्तरी जिल्ला अदालतले दाइजोबापत नगद र गरगहना लिने यहाँका एक आरोपितसँग एक लाख ५० हजार धरौटी लिएको छ ।

सप्तरीको पत्थरगाढा गाविस–६ का ४५ वर्षीय राजकुमार साहसँग मङ्गलबार अदालतले धरौटी रकम लिएरमात्र पुर्पक्षका लागि रिहा गरेको छ ।

जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशमा आरोपित साह  एक लाख ५० हजार धरौटीमा रिहा भएका छन् भने निजका बुबा ६२ वर्षीय विन्दु साह साधारण तारेखमा रिहा भएका छन् ।

राजकुमारका छोरा सन्तोषकुमार साह भने हालसम्म फरार रहेका छन् । आरोपित राजकुमारले २५ वर्षीय छोरा सन्तोषसँग सिम्राहा सिङ्ग्यौन गाविस–७ का जगतकिशोरकी छोरी २२ वर्षीया आरतीकुमारी साहसँग बिहे गर्न भनी बिहे अगावै दाइजो लिएका थिए ।

दाइजो लिनेहरुविरुद्ध जगतकिशोरले गत जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितद्वयलाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको थियो ।

आरोपितहरुले ०६९ साल चैत २५ गते दाइजोस्वरुप थप रकम, मोटरसाइकल र सुन माग्दै नदिए बिहे हुँदैन भनेर लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित पक्षले प्रहरीमा मुद्दा चलाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us