नौविसेमा जाम, यात्रुले थप दुई सय तिर्नुपर्ने

काठमाण्डु टुडे २०७० फागुन २१ गते ४:४० मा प्रकाशित

traffice jaamकाठमाण्डु, २१ फागुन – नौविसे–नागढुङ्गा सडकखण्डमा भइरहेको सवारी जाम कम गराउन साना सवारीसाधनलाई नुवाकोटको पिपलटार, ककनी हुँदै राजधानी पठाउन थालिएको छ ।

सडक ममर्तको कारण घण्टौँसम्म हुने सवारी जामलाई कम गराउन विकल्पका रुपमा नुवाकोटको सडक हुँदै सवारीसाधनलाई राजधानी पठाउन थालिएको हो ।

पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छीबाट पासाङल्हामु मार्गअन्तर्गत पर्ने नुवाकोटको देवीघाट, पिपलटार–ककनी हँदै काठमाडौँको बालाजुसम्मको सडकलाई विकल्पका रुपमा प्रयोग गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

रुट परिवर्तन गरेसँगै वैकल्पिक मार्गका रुपमा सञ्चालनमा ल्याइएको पासाङल्हामु मार्गमा सवारी चाप बढेको छ ।
नुवाकोट हँदै राजधानी जोडिएको सडक साँघुरो भएकाले साना सवारीसाधनलाई मात्र यो रुट प्रयोग गर्न दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसैगरी धार्केबाट आचार्यपोखरी हुँदै सीतापाइला निस्कने गरी पनि केही सवारीलाई व्यवस्थापन गर्न थालिएको छ । हलुका सवारीसाधनलाई यस बाटो प्रयोग गराउन थालिएको हो ।

जाम कम गराउन वैकल्पिक मार्ग प्रयोग गरिए पनि यात्रु भने यो व्यवस्थाबाट मर्कामा परेका छन् । आफ्नो गन्तव्यबाट काठमाडाँैसम्मको भाडा तिरेरका यात्रुसँग नुवाकोट हुँदै काठमाडौँ पुग्ने सवारीले २ सय रुपैयाँसम्म थप भाडा लिने गरेका छन् ।
गल्छीबाट नुवाकोटको ककनी हुँदै राजधानी निस्कँदा २६ किलोमिटर दूरी बढी यात्रा गर्नुपर्ने भए पनि सवारीचालक र सहचालकले २ सय रुपैयाँसम्म थप भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन् ।
नौबिसे–नागढुङ्गा सडक निर्माणमा ठेकेदारको लापरबाहीले ढिलासुस्ती हुँदा यात्रु र सवारी थप समस्यामा परेका हुन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us