मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

काठमाण्डु टुडे २०७० फागुन १९ गते ११:३७ मा प्रकाशित

nepal-rastra-bank-copy_20120515090004काठमाण्डु, १९ फागुन – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकमा सोमबार आयोजित कार्यक्रममा गभर्नर डा. युवराज खतिवडाले गत साउनमा राष्ट्र बैंकले ल्याएको नीतिको कार्यान्वयन स्थिति, विद्यमान चुनौतीहरू एवम् भावी कार्यदिशालाई समीक्षामा समावेश गरिएको बताए ।

मौद्रिक नीति कार्यान्वयनमा आएपछिको छ महिनाको अवधिमा आर्थिक क्रियाकलापहरू सन्तोषप्रद रहेको, शोधनान्तर बचत उच्च रहनाका साथै बैंकिङ क्षेत्रमा उच्च तरलताको स्थिति कायम रहेकाले अल्पकालीन ब्याजदरहरू घट्दै गएको समीक्षामा उल्लेख छ ।

आर्थिक वर्षको सुरुका केही महिनाहरूमा अमेरिकी डलरलगायतका परिवत्र्य मुद्रासँग नेपाली रुपैयाँ कमजोर भए तापनि पछिल्लो समयमा विनिमय दरमा स्थिरता कायम हुँदै गएको यस अवधिमा मूल्यमा भने आशातीत सुधार हुन सकेको छैन भने वस्तु व्यापार असन्तुलन बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

बाली लगाउने समयमा पर्याप्त वर्षा भएका कारण चालु आर्थिक वर्षमा कृषि क्षेत्रको अवस्था राम्रो रहने, संविधानसभाको निर्वाचन सम्पन्न भएसँगै मुलुकले छिट्टै संवैधानिक एवम् राजनीतिक निकास पाउने तथा नयाँ सरकार निर्माणसँगै पुँजीगत खर्चमा वृद्धि भई विकास निर्माण कार्यले गति लिँदै जाने अनुमानका आधारमा चालु आर्थिक वर्षमा उद्योग तथा सेवा क्षेत्रको क्रियाकलापमा केही सुधार हुन गई ५ दशमलव ५ प्रतिशतको लक्षित आर्थिक वृद्धिदर हासिल हुने राष्ट्र बैंकले ठहर गरेको छ ।

चालु आर्थिक वर्षको छैटौँ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर ९ दशमलव ७ प्रतिशत रहेको जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दर ९ दशमलव ८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको छ महिनासम्ममा सरकारको कुल खर्च (नगद प्रवाहमा आधारित) २५ दशमलव ४ प्रतिशतले वृद्धि भई २०७० पुस मसान्तसम्ममा रु. १ सय ३४ अर्ब ४२ करोड पुगेको छ भने कुल साधन परिचालन २९ प्रतिशतले वृद्धि भई रु. १९० अर्ब ५२ करोड पुगेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको नगद प्रवाहमा आधारित बजेट रु. ५६ अर्ब १० करोडले बचतमा रहेको छ, स्रोत परिचालनको तुलनामा सरकारी खर्चको वृद्धिदर न्यून रहेकाले चालु आर्थिक वर्षको पुस मसान्तमा नेपाल राष्ट्र बैंकमा नेपाल सरकारको रु. ७७ अर्ब ६४ करोड नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको छ महिनासम्ममा रु. ७७ अर्ब १९ करोड शोधनान्तर बचत भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा उक्त बचत रु. सात अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वस्तु निर्यात १५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.३ प्रतिशतले बढेको त्यसैगरी समीक्षा अवधिमा वस्तु आयात २३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ, अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात २५ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले वृद्धि भई रु. २६५ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २१.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति १७ दशमलव १ प्रतिशतले वृद्धि भई २०७० पुस मसान्तमा रु. ६२४ अर्ब ६० करोड पुगेको छ । उक्त सञ्चिति ११ दशमलव ४ महिनाको वस्तु आयात र १० दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको गभर्नर डा. खतिवडाले बताए ।

चालु आर्थिक वर्षको छ महिनासम्ममा विस्तृत मुद्राप्रदाय नौ प्रतिशतले बढेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा अवधिमा सङ्कुचित मुद्राप्रदाय ८.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी अघिल्लो वर्षको छ महिनामा रु. ४२ अर्ब ३६ करोड (२६ प्रतिशत) ले घटेको तुलनामा समीक्षा अवधिमा रु. ७३ अर्ब ९६ करोड (४४ दशमलव १ प्रतिशत) ले घटेको समीक्षामा उल्लेख छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा ८ दशमलव ९ प्रतिशत (रु. ८६ अर्ब ६४ करोड) ले वृद्धि भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव ३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७०÷७१ को छ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम आठ प्रतिशत (रु. ९५ अर्ब ४१ करोड) ले बढेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रकम ५ दशमलव ३ प्रतिशत (रु. ५४ अर्ब १३ करोड) ले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा तथा लगानी ७ दशमलव ३ प्रतिशत (रु. ८३ अर्ब ६६ करोड) ले बढेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तथा लगानी ११ दशमलव २ प्रतिशत (रु. १०८ अर्ब १७ करोड) ले बढेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७०÷७१ को ६ महिनासम्ममा पटक–पटक गरी सातदेखि १४ दिनसम्मको रिभर्स रिपोमार्फत् रु. ११८ अर्ब ५० करोड र सोभैm बिक्री बोल–कबोलमार्फत् रु. ८ अर्ब ५० करोड गरी कुल रु. १२७ अर्ब बराबरको तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. आठ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७०÷७१ को ६ महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ६९ करोड खुद खरिद गरी रु. १६८ अर्ब ९३ करोड तरलता प्रवाह गरिएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब १९ करोड खरिद गरी रु. १०३ अर्ब ३४ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

विसं २०७० पुसमा कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ५३ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ४.६८ प्रतिशत रही ब्याजदर अन्तर ६ दशमलव ८५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको औसत आधार दर २०७० पुस महिनामा ८ दशमलव ७५ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us