प्रधानमन्त्री कोइरालाको नेपिटमा भव्य स्वागत

काठमाण्डु टुडे २०७० फागुन १९ गते ८:४३ मा प्रकाशित

sushil_koiralaनेपिट (म्यान्मार), १९ फागुन – प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि म्यान्मारको राजधानी नेपिट पुगेका छन् ।

शिखर सम्मेलनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुरानो राजधानी याङ्गुनबाट विशेष विमानबाट त्यहाँ पुगेका प्रधानमन्त्री कोइरालालाई नेपिट अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारका केन्द्रीय श्रम, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी मन्त्री ऊ ए मिन्टले स्वागत गरे । प्रधानमन्त्रीलाई रातो कार्पेटमा स्वागत गरिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्न विमानस्थलमा म्यान्मार सरकारका उच्च अधिकारी, विदेश मन्त्रालयका शिष्टाचार महापाल ऊ तुरिन थान्टजिन, गृह, रक्षा तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीका साथै याङ्गुनस्थित नेपाली दूतावासका उच्च अधिकारी उपस्थित थिए ।

विमानस्थलबाट करिब २० किलोमिटर टाढा अवस्थित प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल बस्ने म्याट ट विन होटलतर्फ प्रस्थान गर्दा बाटोमा सयौँ म्यान्मारी जनताले नेपाल र म्यान्मारका राष्ट्रिय झण्डा फहराएर स्वागत अभिवादन गरेका थिए ।

यात्रा मार्गमा उक्त मुलुकका सुरक्षाकर्मीले प्रतिनिधिमण्डलको टोली गन्तव्यसम्म नपुगेसम्म सलाम गरिरहेका थिए भने विमानस्थलदेखि होटलसम्मको मार्गमा कुनै सवारी साधन सञ्चालन गर्न दिइएको थिएन ।

चारैतिर सुरक्षाकर्मी तैनाथ गरिएको नेपिटलाई दुलहीझै सिँगारिएको छ । राजधानीका सडक र चोकहरूमा बिम्स्टेकका सदस्य मुलुकका राष्ट्रिय ध्वजा र बिम्स्टेकका झण्डा फहराइएको छ ।

बिम्स्टेकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्का तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा आबद्ध देश थाइल्यान्ड र म्यान्मार सदस्य छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल सोमबार नै बिम्स्टेकको तेस्रो शिखर सम्मेलनस्थल नेपिटतर्फ विशेष विमानबाट प्रस्थान गर्ने कार्यक्रम छ । शिखर सम्मेलन मंगलबारबा सुरु ।

बिम्स्टेकको अध्यक्ष मुलुक म्यान्मारका राष्ट्रपति ऊ थिन सिनको स्वागत मन्तव्यबाट प्रारम्भ हुने सम्मेलनमा तेस्रो शिखर सम्मेलनका कार्यसूची अनुमोदन, सातवटै मुलुकका प्रतिनिधिमण्डद्वारा वर्णानुक्रमअनुसार सम्बोधन, सङ्गठनका उच्च अधिकारीहरूको सोह्रौँ बैठकले तयार पारेको प्रतिवेदन प्रस्तुति, तेस्रो शिखर सम्मेलन घोषणापत्रलाई अन्तिम रुप दिने, औपचारिक रुपमा बिम्स्टेकको पहिलो महासचिवमा श्रीलङ्काली कूटनीतिज्ञ सुमिथ नाकनदालालाई नियुक्ति गर्ने प्रस्ताव पारित र १४ औँ मन्त्रिस्तरीय बैठकको प्रतिवेदन अनुमोदन हुनेछ ।

कोइरालाले सोमबार साँझ भारतीय प्रधानन्त्री डा. मनमोहन सिंहसँग नेपिटमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी, कोइरालाले म्यान्मारका राष्ट्रपति ऊ थिन सिनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us