राजधानीपछि पहिलो सरसफाइ अभियान चितवनमा

काठमाण्डु टुडे २०७० फागुन १७ गते ७:३२ मा प्रकाशित

lilamani_poudelचितवन, १७ फागुन – नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले सरसफाइ अभियान ‘म र हामी’ बाटै सुरु गर्नुपर्ने बताएका छन् । राजधानीपछि चितवन जिल्लामा पहिलो सरसफाइ अभियानको सुरुवात गर्दै पौडेलले सो कुरा बताएका हुन् ।

राजधानीमा बागमती सरसफाइ अभियान जारी रहेको छ । शनिबार बिहान चितवनको नारायणगढमा अभियानको उद्घाटन गर्दै उनले आफू सचेत भए सबै फोहोरको समस्या समाधान हुने बताए । आफूले प्रयोग गरेर छाडेका विकारलाई सही ठाउँमा व्यवस्थापन गरे सहर सफा उनको दाबी थियो ।

जथाभावी फोहोर नफाल्ने काम आम सर्वसाधारणको हो र व्यवस्थित गर्ने काम नगरपालिकाको भएको मुख्य सचिव पौडेललको भनाइ छ ।
साथै उनले नगरवासीलाई सरसफाइमा लाग्न बाचासमेत गराए ।

मन्तव्यपछि नारायणगढको बजार सरसफाइमा जुट्नुभएका उहाँले सर्वसाधारण तथा पसल सञ्चालकहरुलाई समेत आगामी दिनमा फोहोर नफाल्न र कुनै यात्रुले फोहोर फालेमा सही रुपमा व्यवस्थापन गर्नसमेत आग्रह गरेका छन् ।

सो क्रममा सुरुमा पसल सञ्ंचालकहरुलाई आग्रह गर्ने र यदि सरसफाइमा गम्भीर नबने कानुनी प्रक्रियासमेत अवलम्बन गर्ने चेतावनी दिए । मानव धर्म सेवा समितिको अगुवाइमा भएको सरसफाइ अभियानमा प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारण गरी हजारौँको सहभागिता रहेको थियो ।

उनीहरुले नारायणगढ बजारसँगै नारायणी किनारसमेत सरसफाइ गरेका छन् । यो क्रमलाई निरन्तरता दिने नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले बताए । दुई दिनअघि चितवन प्रशासनको अगुवाइमा देवघाटलगायत क्षेत्रको समेत सरसफाइ गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us