सप्तरीमा २१ प्रतिशत बालबालिका कुपोषित

काठमाण्डु टुडे २०७० फागुन १७ गते ७:१७ मा प्रकाशित

child-copyसप्तरी, १७ फागुन – गरिबी, अशिक्षा र जनचेतनाका कारण सप्तरीमा २१ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले तयार गरेको तथ्याङ्कमा त्यसमध्ये तीन प्रतिशत बालबालिकालाई तत्काल स्वास्थ्य उपचार आवश्यक रहेको देखाएको छ ।

जिल्लामा कुल बालबालिकामध्ये छ महिनादेखि पाँच वर्षसम्मका ६२ हजार १५० बालबालिका कुपोषणको सिकार रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सोमध्ये तीन प्रतिशत अर्थात् एक हजार ८६४ जना बालबालिका कडा कुपोषणबाट पीडित छन् भने २१ प्रतिशत अर्थात् ११ हजार १८७ जना बालबालिका मध्यम कुपोषणबाट ग्रसित रहेको तथ्याङ्कमा उल्लेख छ ।

कडा र मध्यम दुवै प्रकारको कुपोषणबाट २१ प्रतिशत अर्थात् १३ हजार ५१ जना बालबालिका पीडित छन् । कुपोषणको सिकार भएका बालबालिकामध्ये तीन हजार ६०० कडा कुपोषित बालबालिकालाई डेढ वर्षको अवधिमा उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए ।

आगामी दुई महिनाभित्र करिब ९० प्रतिशत कुपोषित बालबालिकालाई उपचार गरिने लक्ष्य लिएको प्रमुख झाको कथन छ । कुपोषणको दृष्टिकोणले सोमालिया र अफ्रिकाभन्दा पनि नाजुक अवस्थामा सप्तरी रहेकोले जनस्वास्थ्य कार्यालयले कुपोषणको विकराल समस्या समाधानका लागि प्रचारात्मक, रक्षात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाइ छ ।

युनिसेफको सहयोगमा एसिएफले कुपोषित बालबालिकालाई स्वास्थ्य उपचार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । कुपोषित बालबालिकाको उपचारका लागि नेपाल युथ फाउन्डेसनको सहयोगमा विगत तीन वर्षदेखि राजविराजमा पोषण पुनःस्थापना गृह सञ्चालनमा छन् ।

महिला वातावरण तथा ग्रामीण विकास संस्थाको सहकार्यमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्राङ्गणमा सञ्चालित पोषण पुनःस्थापना गृहले विगत तीन वर्षको अवधिमा ४१३ कुपोषित बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराएको पोषण पुनःस्थापना गृहका प्रमुख रश्मी झाले बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us