विकासका मुद्दालाई ओझेलमा पार्दिन : कोइराला

काठमाण्डु टुडे २०७० फागुन १७ गते ७:०५ मा प्रकाशित

Sushil-Koiralaनेपालगन्ज, १७ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले सरकारको प्राथमिकता एक वर्षभित्र संविधान जारी गर्ने भए पनि विकासका मुद्दालाई ओझेलमा नपारिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले, ‘जनताका आवश्यकता विकासका पूर्वाधार निर्माणबाट मात्र पूरा हुने भएकाले त्यसका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए ।’

मुलुकको राष्ट्रिय स्वार्थ दलीय स्वार्थको छायाँमा पर्न नहुने तर्क राख्दै प्रधानमन्त्री कोइरालाले सरकारले थालेको विकास निर्माणका कामलाई दलीय आँखाले हेर्न नहुनेमा जोड दिए ।

‘विकास निर्माणका काममा कसैको विरोध मान्य हुँदैन, यदि कसैले अवरोध पु¥याउने प्रयास गर्छ भने सरकार चुप लागेर बस्दैन,’ कोइरालाले भने, ‘जनताले पनि त्यस्ता विकासविरोधी तत्वलाई ठेगान लगाउनु पर्छ ।’

स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विगतमा अर्बौं बजेट हिनामिना भएको उनको भनाइ थियो । सरकार छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्न प्रयासरत रहेको कोइरालाले बताए ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले अब जारी हुने संविधान शक्ति सन्तुलनमा आधारित पूर्ण लोकतान्त्रिक हुने र अर्को तानाशाह जन्माउने संविधान नबन्ने दाबीसमेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us