हिमपातले तीन महिनादेखि बाटो बन्द

काठमाण्डु टुडे २०७० फागुन १७ गते ३:५७ मा प्रकाशित

जाजरकोट, १७ फागुन –जाजरकोट र जुम्ला जोड्ने मूलबाटो हिमपातका कारण तीन महिनादेखि अवरुद्ध भएको छ ।

जिल्लाको वारेकोट क्षेत्रको नायकवाडा गाविसबाट जुम्ला जाने मूलबाटो अवरुद्ध भएको हो । प्रत्येक वर्ष हिउँदको समयमा यो बाटो अवरुद्ध हुँदा जाजरकोट र जुम्लावासीलाई महँगो भाडा तिरेर नेपालगन्ज वा सुर्खेत गएर हवाई मार्गबाट एक अर्काको जिल्ला जार्नुपर्ने बाध्यता रहेको नायकवाडाका जनकबहादुर शाहीले बताए ।

तीन महिनासम्म बाटो अवरुद्ध हुँदा आवतजावतका साथै दैनिक कारोबारसमेत प्रभावित हुने गरेको छ । यही नायकवाडाको बाटो भएर रुकुम, जाजरकोट, सल्यान र डोल्पाका बासिन्दा जुम्लालगायत कर्णाली अञ्चलका अन्य जिल्लामा जाने गर्दछन् ।

भारी हिमपातले गर्दा चाखुरे हिमालमा बाटो बन्द हुने गर्दछ । यो जाजरकोटको सबैभन्दा ठूलो हिमाल पनि हो ।

पहाडी गाडी भनेर चिनिने खच्चडहरू पनि यही बाटो भएर कर्णाली अञ्चलका विभिन्न जिल्लामा जाने भए पनि बाटो बन्द हुँदा तीन महिनासम्म ढुवानी सेवासमेत ठप्प हुने गरेको खच्चड व्यवसायी पूर्णबहादुर खत्रीले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us