एमालेमा नवौं महाधिवेशन सार्न माग

काठमाण्डु टुडे २०७० फागुन १६ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– एमाले केन्द्रीय कमिटि बैठकमा स्थायी समितिले गर्ने भनेको समयमा पार्टीको नवौं महाधिवेशन गर्न नहुने आवाज उठेको छ ।
uml officeपार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको केन्द्रीय कमिटि बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशन सार्नुपर्ने बताएका हुन् ।

स्थायी कमिटिले तोकेको मितिमा महाधिवेशन गर्दा तयारी नपुग्ने भएकाले सार्न सुझाव दिइएको केन्द्रीय सदस्य ठाकुर गैरेले काठमाण्डु टुडेलाई जानकारी दिए । सदस्यहरुले संसदीय दलको नेता चयनदेखि सरकार विस्तारसम्म पार्टीमा देखिएको गुटबन्दी अन्त्य नगरी महाधिवेशन गर्न नहुने सुझाव दिएका थिए । स्थायी कमिटिले वैशाख ९ गते हुने भनिएको महाधिवेशन मदन–आश्रित स्मृति दिवसका दिन ३ जेठमा सार्ने निर्णय गरेको थियो ।
यस्तै बैठकमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले अस्पतालमा पार्टी बैठक बोलाइएकामा आपत्ति जनाएका थिए । विधि र प्रक्रियाविपरीत जसलाई जहाँ मनलाग्यो त्यहीं बैठक बोलाउँदा पार्टी कमजोर हुने नेता नेपालको भनाइ थियो ।

‘पार्टी बैठक कहाँ कसरी बस्ने भन्नेमा नेताहरुबीचमा समझदारी हुनुपर्छ’, नेपालको भनाइ उद्धृत गर्दै गैरेले भने, ‘अस्पतालमा बैठक गर्ने परिपाटीले विधि र पद्धति कमजोर बनाउँछ ।’ केही दिनअघि नेता केपी ओलीले उपचार गराइरहेको राजधानीको धापासीस्थित ग्रयाण्डी अस्पतालमा स्थायी कमिटि बैठक बसेको थियो । अस्पताल बैठक बहिस्कार गरेका नेता नेपालले त्यसबारे सार्वजनिक रुपमै आपत्ति जनाउँदै आएका छन् ।

यस्तै बैठकमा मन्त्री छान्दा समावेशी सिद्धान्त र क्षेत्रगत सन्तुलन नमिलेकामा पनि नेताहरुको आलोचना भएको थियो  । बैठकमा झलनाथ खनालले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रिहरुलाई मुलुकको शान्ति सुरक्षा कायम गर्न र एक वर्षभित्र संविधान जारी गर्ने काममा सहजकर्ताको भूमिका खेल्न निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us