प्रचण्डको कतार भ्रमण र चियापानबारे केही कुरा

काठमाण्डु टुडे २०७० फागुन १६ गते १२:१२ मा प्रकाशित

Yubaraj-Chaulagainएनेकपा माओवादीले नेपाली समाजको बदलिएको विशेषताबारे सही विश्लेषण गर्दै प्रवासी नेपाली मजदुरहरुको भूमिकाबारे पटक–पटक आफ्ना राजनीतिक दस्तावेजहरुमा विशेष उल्लेख गर्ने गरेको छ ।

हेटौंडा महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनले खाडी क्षेत्रमा रहेका युवाहरुको भूमिकाका बारेमा चर्चा र विश्लेषण गरेको छ । यो कुराके बिशेष महत्व किन छ भने नेपालका अरु कुनै पनि दलले त्यस स्तरको विश्लेषण गरेका छैनन् । हाम्रो विश्लेषणमा नेपालको सामन्तवादी उत्पादन चरित्रमा ठूलो बदलाव आएको छ र त्यसको ठाउँ पुँजीवादले लिइरहेको छ । तर, पुँजीवादको चरित्र प्रतिस्पर्धात्मक राष्ट्रिय पुँजीवादी नरहेर यो दलाल पुँजीवादी चरित्रको छ जो दातृ निकाय र बहुराष्ट्रिय संस्थाहरुको अधीनस्थ छ ।

यसप्रकारको समाज व्यवस्थाको एउटा महत्वपूर्ण पक्ष के छ भने राष्ट्रिय अर्थतन्त्रमा विप्रेषण अर्थात् विदेशबाट कमाइ भइ देशमा भित्रिने धनले समग्र अर्थतन्त्रको करिब एक तिहाई हिस्सा ओगटेको छ । यसको सीधा अर्थ हो, राष्ट्रिय पुँजी निर्माणदेखि दैनिक व्यवहार सञ्चालनमा विदेश रहेका युवाहरुको अहम् भूमिका छ । एनेकपा (माओवादी) ले यो तथ्यलाई गम्भीरतापूर्वक अनुभूत गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय क्षेत्रका मजदुर वा श्रमजीवीहरुबीचको कामको मुख्य वैचारिक आधार यही हो ।

कतार भ्रमणबारे
गत १९ फेब्रुअरीदेखि २३ फेब्रुअरीसम्मको अध्यक्ष प्रचण्डको कतार भ्रमणले पार्टीको उपरोक्त मान्यताकै पुनर्पुष्टि गर्ने प्रयत्न गरेको छ । अध्यक्ष प्रचण्डको कतार भ्रमणले सिंगो खाडी क्षेत्रको नेपाली ‘डायस्पोरा’ लाई तरंगित गर्नुको गुढ तथ्य पनि यहींभित्र अन्तर्निहित छ ।

खाडी क्षेत्रको तातो बालुवामा श्रम गरेर आफ्नो व्यक्तिगत भविष्य खोजिरहेका आधुनिक मजदुरहरु देशभित्र पसेर संगठित रुपमा जब आफ्ना सामूहिक मागमा राज्यसँग सौदावाजीमा उत्रने छन्, निश्चय नै त्यतिबेलाको द्वन्द्व व्यवस्थापन जटिल हुनेछ ।

ठीक त्यही कारण, एकातिर त्यो जनशक्तिलाई नेपालको संस्थापन राजनीतिले आफ्नो निकट अन्तक्र्रियामा राख्न आवश्यक छ ता की त्यो आफ्नो भुर्इं यथार्थबाट विचलित नबनोस् । अर्कातिर, देश निर्माणमा उसको सक्रिय सहभागिता सुनिश्चित पनि गर्नुछ जसले गर्दा देशलाई उनीहरुको उन्नत चेतनाबाट प्रत्यक्ष लाभ मिल्न सक्छ ।

अध्यक्ष प्रचण्डले विश्वकपको राजनीतिक तावामा बाफिइरहेको कतारका प्रधानमन्त्री, विदेशमन्त्री र श्रम मन्त्रीसँगको भेटघाटबाट मजदुरहरुको हकहितका बारेमा आवाज उठाएर आफ्नो पार्टी निरन्तर रुपमा मजदुर वर्गको अग्रदस्ता भएको सन्देश दिनुभएको छ ।

यो श्रमजीवी वर्गका लागि गौरवको कुरा हो । ५ दिने व्यस्त दैनिकीका बीच अध्यक्ष प्रचण्डको टोलीले कतारमा गरेका द्विदेशीय वा नेपाली समुदायबीचको काम अत्यन्त सफल र उन्नतस्तरका रहे । यसमा कसैको विमती नहोला । तर, भ्रमण टोलीको गठन र त्यहाँ भएका केही गतिविधिहरुका बारेमा केही सामान्य प्रश्नहरु उठाएर जसरी समग्रतालाई धुमिल पार्ने प्रयत्नहरु भइरहेका छन्, त्यो विल्कूल नाजायज छ ।

पहिलो कुरा त, अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा पार्टीका तर्फबाट औपचारिक रुपमा सहभागी हुने सदस्य संख्या जम्मा ३ जना मात्र हो । अध्यक्ष स्वयम्, निवर्तमन अन्तर्राष्ट्रिय प्रमुख तथा हाल प्रवक्ता दीनानाथ शर्मा र अध्यक्षका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चुडामणि खड्का मात्र पार्टीको निर्णयबाट सहभागी हुनुभएको हो ।

कुनै व्यवसायीको खर्चमा विदेश भ्रमणमा निस्केर अध्यक्षसँगै कुम जोडेर फोटो खिच्न सफल केही खबर खेतीकर्ताले दावी गरेजस्तो ८/९ जनाको भ्रमण टोली त्यहाँ गएको होइन ।

पार्टीको श्रम विभाग प्रमुख लेखराज भट्टप्रति पार्टी सकारात्मक मात्र हो तर उहाँ पनि भ्रमण टोलीको औपचारिक सदस्य होइन । त्यहाँ भएका सबै औपचारिक भेटघाटमा अध्यक्ष, प्रवक्ता, श्रम विभाग प्रमुख र अध्यक्षका स्वकीय सचिवको मात्र सहभागिता रह्यो । बाँकी कोही पनि त्यस्ता भेटघाटमा संलग्न रहेनन् । तर, यो तथ्यलाई नबुझीकन सबैलाई एकैस्तरमा राखी प्रचार गर्नु, गराउनु अस्वभाविक हो ।

स्पष्टै छ, पत्रकार वा व्यवसायीको कोटा भनेर कसैलाई लगिएको हुँदै होइन । ३ जना बाहेकको भ्रमण निजी हो । यो तथ्यलाई बुझिदिनु हुन अन्तर्राष्ट्रिय विभाग सदस्यका हैसियतमा सबैलाई अनुरोध गर्दछु । त्यस स्तरका भ्रमणका लागि पत्रकारको कोटा परेमा हिजो ज्यान हत्केलामा राखेर आन्दोलनमा सरिक पत्रकारहरु नै पहिलो प्राथमिकतामा पारिनुपर्छ ।

यसमा पार्टी र अन्तर्राष्ट्रिय विभाग प्रष्ट छ । जहाँसम्म आफ्नो टोलीमा को–को परे भनेर अध्यक्षले विचार किन नगरेको भन्ने प्रश्न छ, त्यो जायज नै हो । सायद, आगामी दिनमा यसले निजी तवरबाट जाने पनि कस–कसलाई सहभागी गराउने भन्ने निर्णय लिन सहयोग हुनेछ ।

चियापानबारे
पार्टीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा फागुन १४ मा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा विदेशी राजदूतहरु समेतलाई सहभागी गराएर चियापान कार्यक्रम सम्पन्न गरियो । उक्त विषयमा सकारात्मकसँगै नकारात्मक चर्चा पनि भएको पाइयो । तथ्य बुझ्न सजिलो होस् भनेर यस विषयमा पनि तल केही उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय विभागले मुलभूत रुपमा चार क्षेत्रका कामहरु गर्दै आएको छ । ती हुन् –अन्तर्राष्ट्रिय क्षेत्रको पार्टी संगठन, कुटनीति, भाइचारा सम्बन्ध र ऐक्यबद्धता आन्दोलन संग सम्बन्धीत कामहरु । यीमध्ये विगत लामो समयदेखि अन्तर्राष्ट्रिय विभागले आफ्नो काम पार्टी संगठनमा मात्रै केन्द्रित भइरहेको र अन्य क्षेत्रहरुमा तुलनात्मक रुपले ध्यान बढाउनुपर्ने अनुभूति गरिंदै आएको थियो ।

त्यसकारण, पार्टीको पछिल्लोपटक पुनर्संरचना गरिएको अन्तर्राष्ट्रिय विभागले संस्थागत कुटनीतिक कामलाई अघि बढाउने निर्णय ग¥यो । र, त्यसका लागि फागुन १२ गते पार्टी केन्द्रीय कार्यालयमा चियासहित स्वागत ताथ अन्तकृयाका लागि काठमाण्डुस्थित विदेशी राजदूतहरु,अनररी कन्सुलरहरु, नेपाल सरकारका प्रतिनिधिहरु, केही पत्रकार, युएन एजेन्सीहरु, डोनर संस्थाका प्रतिनिधिहरुलाई निम्तो गर्ने निर्णय पनि भयो । कार्यक्रम पार्टी कार्यालयमै गर्ने कि अन्यत्र भनेर पनि छलफल गरियो । अन्ततः पार्टी कार्यालयमै गर्ने निर्णयसहित कार्यक्रम तय भयो । तर, निर्धारण गरिएको फागुन १२ को मितिमा इन्चार्ज नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को रौतहटको कार्यक्रम परेको हुनाले उक्त मितिलाई १४ गतेका लागि सारियो । १४ गते चियापानका लागि तयार पारिएको कार्यक्रम हलमा सुरुमा शहीद सप्ताह कार्यक्रम मनाइयो । र, दिउँसो राजदुतहरुसहित अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, परराष्ट्रमन्त्री, मुख्यसचिव, केही पत्रकारहरु सम्मिलित चियापान सम्पन्न भयो ।

यस पंक्तिकारले सञ्चालन गरेको छोटो औपचारिक कार्यक्रममा इन्चार्ज श्रेष्ठले विस्तृत रुपमा मन्तव्य राख्नुभयो । संस्थागत रुपले, पार्टी केन्द्रीय कार्यालयमा, सामूहिक उपस्थितिमा भएको त्यो कार्यक्रमलाई विरोधीहरुले हिलो छ्याप्न खोज्नु स्वाभाविकै थियो । तर, पार्टीमा आवद्ध र निकटकै साथीहरुबाट अनावश्यक बिषयहरु जोडेर विवाद सिर्जना गर्नु उदेकको विषय भएको छ ।

शहीद सप्ताहको शुरुको दिनमा भोज भयो भनेर भनिएको पाइयो । तर, दिनमै दर्जनौं योद्धाहरुले शहादत प्राप्त गरेको हाम्रो जस्तो पार्टीमा हरेक दिन विशेषका बारेमा यस्तो चर्चा गर्न सकिन्छ । फागुन १४ विशेष दिन हो, त्यसमा कुनै शंका छैन । यस दिनमा अन्य कार्यक्रम राख्ने कि नराख्ने भन्ने बारेमा छलफल आवश्यक भए पार्टीभित्र गर्न सकिन्छ ।

कुन-कुन कार्यक्रम यो दिनमा गर्ने भनेर निर्णय लिनुपर्ने भए त्यो दिशामा जाऔं । तर, आफूलाई चित्त बुझेन भन्दैमा अनावश्यक सन्दर्भहरु जोडेर पार्टी र आन्दोलनलाई क्षति पुग्ने गतिविधि गर्न उपयुक्त हुँदैन । नपाली समाजमा पितृहरुको सम्झनामा हरेक वर्ष श्राद्ध गर्ने चलन छ । यो एक ढंगको शोक मनाइ हो । त्यहाँ सबै जम्मा भएर खानेकुरा खाइन्छ । तर त्यसलाई भोजभतेर भनिंदैन । यस्तो उदांगो तथ्यलाई समेत अपव्याख्या गरिनुले हामीलाई दुःख लागेको छ ।

अन्त्यमा, अध्यक्ष प्रचण्डको कतार भ्रमण र पार्टी केन्द्रीय कार्यालयको चियापान दुवै कार्यक्रम हाम्रो पार्टीका लागि गहन महत्वका घटना हुन् । दुवै घटनामा हाम्रो तर्फबाट केही कमजोरी पक्कै भएका छन् । तर, ती कमजोरी भोलिका दिनहरुमा सच्याउन पनि सकिने खालका छन् । यी दुवै घटनाका सकारात्मक पक्ष मुख्य छन् र तिनलाई स्थापित गर्नु सबैको कर्तव्य हो । यसमा सबैको ध्यान जाओस ।

(चौलागार्इं एकीकृत माओवादीका केन्द्रीय सदस्य एवम् विदेश विभाग सदस्य हुन् । )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us