खुवा व्यापारका लागि गाईपालन

काठमाण्डु टुडे २०७० फागुन १६ गते ११:२४ मा प्रकाशित

cooperatives-cowsकीर्तिपुर, १६ फागुन – काठमाण्डुको दक्षिणभेगस्थित चाल्नाखेल, सेतीदेवीलगायतका स्थानमा खुवाको व्यापारका लागि कृषकहरू गाईपालनतर्फ आकर्षित बन्न थालेका छन् ।

काठमाण्डु दक्षिण भेगस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा दैनिकरूपमा खुवाको उत्साहजनक व्यापार हुन थालेसँगै यस क्षेत्रका कृषकहरू गाईपालनतर्फ आकर्षित बनेका हुन् ।

विगतमा परम्परागत तवरबाट गाईपालन हुने गरेको यस क्षेत्रमा विस्तारै यसले व्यावसायिक रूप लिन थालेको छ ।

पछिल्लो समयमा खुवाको व्यापार व्यावसायिक रूपबाट पनि बढ्न थालेको र यस भेगमा उत्पादित खुवाले काठमाण्डु साथै मकवानपुरको हेटौँडासम्म पनि बजार पाउने थालेका कारण गाईपालनले व्यावसायिक रूप लिन थालेको स्थानीय कृषक चन्द्र बस्नेतले बताए ।

उनका अनुसार काठमाण्डु दक्षिणभेगका चाल्नाखेल, सेतीदेवी, टल्कू, छैमले, दक्षिणकालीलगायतका स्थानमा खुवाको उत्पादन गर्ने गरिएको छ ।

प्रतिकिलो लगभग ४०० का दरले खुवाको व्यापार हुने गरेको जानकारी गराउँदै उनले यस क्षेत्रमा उत्पादित दूधबाट खुवा बनाउनुका साथै काठमाण्डुका विभिन्न स्थानमा दूधको व्यापारसमेत गर्ने गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us