यस्तो छ दिलशोभाविरुद्धको उजुरी

काठमाण्डु टुडे २०७० फागुन १५ गते १४:२२ मा प्रकाशित

Dilshovaकाठमाण्डु, १५ फागुन– आमा घरकी सञ्चालिका दिलशोभा श्रेष्ठविरुद्ध यौन दुराचार अभियोगमा उजुरी परेपछि त्यसबारे सर्वत्र चासो र चर्चा छ ।

उजुरीकै आधारमा प्रहरीले आमाघरमा रहेका दुई दर्जन बालबालिकाको उद्धार ग¥यो । दिलशोभाविरुद्ध परेको उजुरीको पूर्ण पाठ काठमाण्डु टुडेले फेला पारेको छ । यस्तो छ उजुरी ।

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, काठमाडौं।

बिषय—शोषणमा परेका बृद्धा तथा बालबालिकाको तत्काल उद्धार गर्नेबारे ।

महोदय,

उपरोक्त सम्बन्धमा काठमाडौं रविभवनस्थित ‘वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी’ (आमा घर) २०५६ सालमा स्थापना भई हाल संचालन रहिरहेको छ। यस संस्थाको स्थापनाकालदेखि हालसम्म अध्यक्ष दिलशोभा श्रेष्ठ रहनु भएको छ र उहांकै सक्रियताले संस्था संचालन हुँदै आएको छ।

संस्थाको स्थापनाकालमा नै जेष्ठ नागरिक तथा वृद्ध व्यक्तिहरुको लागि एकिकृत रुपमा कल्याकाणकारी कार्यक्रमहरु संचालन गर्ने मुख्य लक्ष्य राखिएको छ। मूलतः सामाजिक रुपमा अपहेलित, बहिष्कृत भएका जेष्ठ नागरिकहरुलाई संस्थामा ल्याएर आश्रय दिएर राख्नु आफैमा सराहनीय काम हो।

समाजबाट बहिष्कृत भएका, हिंसामा परेका, घरपरिवारबाट अपहेलित भएका जेष्ठ नागरिकलाई आश्रय दिइ उनीहरुको जीवनरक्षा गर्ने काम आमरुपमा सबैले गर्न सक्दैनन्। सामाजिक पुण्यको यस्तो काम सामान्य नभएर असाधारण काम समेत हो। राज्यले संरक्षण गर्न नसकेको असहाय वृद्धा र बालबालिकालाई संस्थाले संरक्षण दिँदै आएको छ।

त्यसैले पनि आम मिडिया र सामाजिक क्षेत्रमा यस आमा घर र त्यसलाई नेतृत्व दिने दिलशोभा श्रेष्ठको नाम अपिरिचित छैन। संचारमाध्यमबाट भइरहेको सतही प्रचारप्रसारले आज स्वदेश तथा विदेशबाट यस संस्थालाई प्रशस्त सहयोग समेत आइरहेको छ। संस्थाको उद्देश्य र लक्ष्य आफैमा राम्रो भए पनि यथार्थमा यस संस्थाभित्रको व्यवहारिक पाटो भने भिन्न छ। जसलाई आज सार्वजनिक रुपमा भन्नुपर्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ। बाहिर देखिने आवरण र संस्थाभित्रको भित्री यथार्थ अर्कै छ।

पहिलो कुरा संस्था जेष्ठ नागरिकका लागि आश्रय दिनका लागि मात्रै स्थापना भएको हो। तर, पछिल्लोपटक संस्थाले बालगृह समेत संचालन गरेको छ। यसका लागि सम्वन्धित निकायबाट अनुमति समेत नलिई बालगृह संचालन भइरहेको छ। जुन विषय सम्वन्धित निकायको जानकारीमा आइसकेको छ।

जेष्ठ नागरिकलाई आश्रय दिने संस्थाका लागि भन्दा बालगृह संचालन गर्दा बाहिरी सहयोग बढी लिन सकिने कारणले बालगृह संचालन गरिएको हो।

जेष्ठ नागरिक र बालबालिकालाई आश्रय दिने आवरणमा यस संस्थाले कमाउ धन्दा गर्न थालेको महशुस हामीले गरेका छौ। विभिन्न कालखण्डमा यसै संस्थामा रहेर स्वयंसेवकको रुपमा काम गर्ने र संस्थामा आश्रय लिई हाल बाहिर रहेका हामी हाम्रै आंखाले देखेको अन्याय र शोषण सहन नसकी आज यो निवेदन दिन आएका हौँ।

संस्था र त्यसको नेतृत्व गर्ने दिलशोभा श्रेष्ठको सामाजिक प्रतिष्ठामा आंच पुर्‍याउने हाम्रो उद्देश्य होइन। तर, जेष्ठ नगारिक र बालबालिकालाई आश्रय दिने आवरणमा भइरहेको गलत कर्तुत र शोषणबाट उन्मुक्ति दिलाउने हाम्रो अभियान हो। यहाँ भएका गलत काम र शोषणको प्रमाण हामीले यसै निवेदनसाथ पेश गरेका छौ। संस्थाले गरेका गलत कामको बूंदागत रुपमा उल्लेख गर्दै सम्वन्धित संस्थाको नियमन गरी शोषणमा रहेका बालबालिका र जेष्ठनागरिकको उद्दारका लागि हामी माग गर्दछौँ।

१) अनुमति नै नलिई संस्थाले पांच वर्षदेखि बालगृह संचालन गर्दै आएको छ। बालबालिका राख्नुमा हाम्रो आपत्ति होइन। तर, बालबालिकालाई पेटभरी खाना नदिने, दुषित पानी प्रयोग गर्ने, नुहाउन नपाउने, सरफाईमा ध्यान नदिने। बालमैत्री वातावरण नदेखिएको, समय र परिस्थिति अनुसार बालबालिका र बृद्धाहरु माथि फरक व्यवहार गर्ने गरिएको छ।

संस्थाको ६८/६९ को प्रगति विवरणमा ४९ बालबालिका रहेको देखाइएको छ। तर, हाल संस्थामा ३३ जना मात्रै छन्। तर, १६ जना कहाँ गए भन्ने कुनै रेकर्ड छैन। उनीहरुलाई घरेलु काममा पठाइएको बताइन्छ।

२) संस्थामा सम्पर्कमा आएका बालबालिकाको कुनै रेकर्ड नभएको। संस्थामा आएका बालबालिकालाई घरेलु कामदारको रुपमा विभिन्न ठाउँमा पठाउने गरेको हो।

३) बासी खाना खुवाउने गरेको, संस्थामा आउने खाद्यान्न तथा जिन्सी सामानहरु बेच्ने र मिति नाघेका खाना प्रयोग गर्ने गरेको पाइएको। जस्तै बिस्कुट, जुस, हर्लिक्स, मिठाई, चकलेट, चामल, दाल आदि।

४) बाहिरबाट संस्थामा आश्रय लिएका जेष्ठ नागरिक तथा बालबालिकाको नाममा आएको सहयोग—लगाउने, ओड्ने, ओछ्याउने कपडा, स्टेशनरीको सामाग्री आश्रितहरुलाई नदिई बेच्ने गरेको। (बेच्नका लागि बच्चाहरुलाई नै प्रयोग गर्ने गरेको। आवश्यक परेमा बच्चाहरुले समेत बेच्ने पसलहरु देखाउन सक्ने)

५) आश्रितहरुका लागि औषधउपचारको नाममा थुप्रै सहयोग आउने गरे पनि वर्षमा एकपटक पनि उनीहरुको स्वास्थ्य परीक्षण नगरिने। बिरामी भएको अवस्थामा संस्थामा उपलव्ध औषधिहरु समेत नदिई मानसिक तनाव दिँदै आएको।

६) संस्थाले बालबालिकाको सरसफाई नगरेको, स्टेशनरी उपलव्ध नगराएको, अभिभावकको भूमिका निर्वाह नगरेको जस्ता कारण जनाउँदै विद्यालयले बारम्बार संस्थाप्रति असन्तुष्टि जनाउँदै आएको।

७) संस्थाका काममा आश्रितहरुलाई नै प्रयोग गर्ने गरिएको। बालबालिकालाई बालुवा गिटी बोकाउने, चामलका बोरा बोकाउन लगाउने, बृद्धाहरुलाई संस्थाका सबै भाँडा माज्न लगाउने, भुई पुछ्न लगाउने, काम नगरेमा गालीगौलज गर्ने र हातपात समेत गर्ने गरेको।

८) बालबालिकाकालाई आफ्ना परिवार तथा संरक्षकसँग सम्पर्क गर्न नदिने, फोनहरु आउँदा समेत गालीगलौज गरी मानसिक तनाव दिने। जसले कतिपय बालबच्चाहरु लामो समयसम्म परिवार र अभिभावकसँग सम्पर्कविहीन भएको।

९) केही समयअघि संस्थामा ल्याएर छाडेको एक नाबालक विदेशीलाई दिएको। केही समयपछि विदेशमै उसको निधन भएको। (यसको प्रमाण आवश्यक भएमा विदेशीलाई दिन सहयोग गर्ने व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उपलव्ध छ)

१०) संस्थाको गतिविधि थाहा पाएर सार्वजनिक गर्लान् भन्ने डरले लामो समय कुनै पनि बालबालिका तथा आमाहरुलाई नराखी उनीहरुलाई निकाल्ने गरेको। निकाल्दा विभिन्न गालीगलौज गरी जर्वरजस्ती निकाल्ने, त्यसरी निकाल्दा कतिपयलाई घर पठाउने गरेको छ।

११) संस्थामा आएको सहयोग रकम समेत व्यक्तिगत रुपमा प्रयोग गर्ने र आश्रय लिनेहरुमाथि शोषण गर्ने गरेको। जस्तै केही महिना अघि आमा घरकी अध्यक्ष दिलशोभाले बाहिरबाट प्राप्त ४० लाख रुपैयाँ त्यही संस्थामा आश्रय लिइरहेकी संगिता तामाङलाई बोकाएर आफू निकटका व्यक्तिलाई दिएको। आवश्यक परेमा तामाङले यसबारेमा खुलस्त बताउन सक्छिन्।

१२) एउटै समस्या देखाएर स्वदेशी तथा विदेशी सहयोगी दाताहरुसँग रकम लिँदै आएको छ। यस्तो रकम लाखौँमा आउने गर्छ। तर, संस्थाका लागि खर्च नगरी आफू निकट तथा परिवारका सदस्यहरुलाई दिने गरेको।

१३) स्वयंसेवक तथा संस्थामा आश्रय लिएर बसेका व्यक्तिहरुमाथि चोरको आरोप लगाएर आमाचाकरी गाली गर्ने, मानसिक तनाव दिने गर्दै आएको छ। तर, पुलिसलाई खवर गरेर वास्तविक अनुसन्धान गर्न पटक—पटक आग्रह गर्दा दिलशोभा आफै नमान्ने गरेको।

केही समयअघि संस्थाबाट २२ तोला सुन हराउँदा पनि पुलिस आएर अनुसन्धान गर्दा उल्टो आफै परिएला भनेर उजुरी नदिएको। संस्थाको वास्तविकता बाहिर आउने डरले पुलिसमा खबर नगर्ने गरेको।

१४) संस्थामा दिनहुँ लाखौँको सहयोग आउने गर्दछ। तर, संस्थामा आश्रय लिएका वृद्धा र बालबालिकाको आवास र खानाका लागि न्यूनतम आवश्कता समेत पूरा नगरी अचल सम्पति जोड्ने काम गरिएको छ। (उनी, उनका परिवार र आफन्तको नाममा रहेको अचल सम्पतिको अनुसन्धान गरेमा उनले जोडेको सम्पतिको पर्दाफास हुनेछ)। तर, फर्जी बिल बनाएर बाहिरबाट प्राप्त सहयोगको सदुपयोग भएको देखाउने गरिएको छ।

१५) संस्थामा आउने आगुन्तकहरुका माझ भावुक भई सहयोग दिन बाध्य बनाउने गरेको। (कुनै सहयोगी दाता जांदा उनी रुने र भावुक भई सहयोग दिन बाध्य बनाउने नाटक रच्ने गर्दछिन्)

१६) संस्थाको सम्पर्कमा आउने कतिपय महिलाहरुलाई अनैतिक काममा समेत लगाउने गरेको पाइएको छ। जसको अडियो क्लिप हामीले यसै उजुरीका साथ पेश गरेका छौँ। त्यो अडियो नै दिलशोभाको कर्तुतको पर्दाफास हुनेछ।

गुठीमा हाल ३३ बालबालिका छन। गुठीमा आश्रय लिन आएका कतिपय बालबालिकालाई घरेलु कामदारको रुपमा समेत पठाइएको छ। शोषणका कारण कतिपय भागेर आफ्नै गाउँ फर्केका छन्।

संस्थामा भइरहेका माथि उल्लेखित तथ्य कुनै बनावटी नभई यथार्थ हुन्। जसको बारेमा नियमन निकायले अनुसन्धान गर्दा समेत पुष्टि हुनेछ। संस्थाका अध्यक्ष दिलशोभाका सामुन्ने बालबालिका र वृद्धाहरु यथार्थ भन्न डराउँछन्। तर, उनको अनुपस्थितिमा सोधपुछ गर्ने हो भने हामीले यहां पेश भएका तथ्य र विवरणहरु आफै बोल्छन्। बाहिरी आवरणमा सामाजिक काम गरेर अर्न्तराष्ट्रिय रुपमा ख्याती कमाए पनि उनको भित्री वास्तविकता अपराधको रुपमा देखिन्छ। जसलाई अहिलेसम्म सम्वन्धित निकायले समेत अनुसन्धान गर्न सकिरहेको छैन। सामाजिक कामको आवरणमा भइरहेको यस्तो शोषण र अनैतिक धन्दालाई रोक्नुपर्ने हाम्रो जोडदार माग छ। साथै उनले वृद्धा र बालबालिकाको नाममा आएको सहयोग आफ्नो व्यक्तिगत सम्पति जोड्ने माध्यम बनाउँदै आएकी छिन्। जसको अनुसन्धान गरी उनको सम्पतिमाथि पनि छानबिन होस् भन्ने हामी जोडदार माग गर्दछौ। तत्काल शोषणमा परेका वृद्धा र बालबालिकाको उद्धार गरी उनीहरुको यथोचित व्यवस्थापन गर्न समेत हामी आग्रह गर्दछौँ।

हाम्रो यो अभियान कुनै व्यक्ति वा संस्थामाथि लान्छना र आरोप लगाउने उद्देश्यबाट गरिएको होइन। सामाजिक कामको आवरणमा कमाई खाने माध्यम बनाएर बृद्धा र बालबालिकामाथि भइरहेको सवैखालको शोषणको अन्त्य गर्नका लागि सहजकर्ताको भूमिका मात्रै हामीले निर्वाह गरेका हौँ। हाम्रो बुझाईमा यस्तो गतिविधि गर्ने आमा घर एउटा मात्रै छैन। यो एउटा प्रतिनिधि संस्था मात्र हुनसक्छ। तत्काल आमा घरमा दयनीय अवस्थामा राखिएका बालबालिका र बृद्धाहरुको तत्काल उद्धार गरियोस्।साथै यस्ता अन्य संघसंस्थाहरुमाथि पनि अनुसन्धान होस् भन्ने हाम्रो माग छ।

संलग्न प्रमाणहरु

१) अडियो र भिडियो क्लिप्स (यसमा बालबालिका र बृद्धाहरुसँगको कुराकानी समावेश छ। साथै गुठीकी अध्यक्ष दिलशोभा श्रेष्ठको विभिन्न भ्वाइस रेकर्ड समेत संलग्न छ)
२) तस्बिरहरु
३) आवश्यक परेको खण्डमा गुठीमा आश्रित बालबालिकासँग समेत कुरा गरेर यथार्थ जानकारी लिन सकिन्छ।

बोधार्थ
१) केन्द्रीय बालकल्याण समिति
२) महिला तथा बालबालिका मन्त्रालय
३) महिला विकास आयोग
४) राष्ट्रिय मानव अधिकार आयोग

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us