रमेश खरेल हिरो हुँदा आईजीपीलाई टेन्सन

काठमाण्डु टुडे २०७० फागुन १३ गते ६:५१ मा प्रकाशित

upendra-rameshकाठमाण्डु, १३ फागुन – काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश खरेलसँग प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल रुष्ट बनेका छन् ।

उच्च प्रहरी स्रोतका अनुसार खरेलले कामभन्दा प्रचार बढी गरेको भन्दै अर्याल रुष्ट बनेका हुन् । अर्यालले पछिल्लो समय उपल्ला प्रहरी अधिकारीहरुसँग खरेलको खुलेरै आलोचना गर्ने गरेका छन् ।

‘प्रहरीको काम समाजमा शान्ति सुव्यवस्था कायम गर्ने हो’, अर्यालको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘सस्तो चर्चा बटुल्न सेलिब्रेटीले जस्तो मियिडामा अन्तर्वार्ता दिँदै हिंड्ने होइन ।’

चेनअफ कमाण्डमा चल्नुपर्ने प्रहरी संगठनमा दलका नेताले जस्तो फरकफरक अभिव्यक्ति दिंदै हिड्न नमिल्ने भनाइ उनको छ ।

आईजीपीले गर्ने काम तल्ला तहका कर्मचारीले गरे आफूले के गर्ने ? भन्ने प्रश्नसमेत उनले गर्ने गरेका छन् । खरेल काठमाण्डु प्रहरी प्रमुख भएर आएलगत्तै गुण्डागर्दी नियन्त्रण अभियान चलाएर चर्चामा छन् । तर अर्यालसहित उपल्ला प्रहरी अधिकारीले भने टोले गुण्डा समातेर खरेलले गुण्डा नाइकेहरुलाई छाडेको आरोप लगाउँदै आएका छन् ।

सहयोगीहरु समातिए पनि प्रहरीको खोजी सूचीमा रहेका काठमाण्डुका चर्चित गुण्डा नाइकेहरु रमेश बाहुन, दिनेश अधिकारी ‘चरी’, रोज राणा, कुमार घैंटे र गणेश लामालगायत भूमिगत छन् । उनीहरुमाथि हत्या, लुटपाट, अपहरण, फिरौती र हप्ता असुलीलगायत अभियोगमा प्रहरीमा मुद्धा छ ।

स्रोतका अनुसार सञ्चारमाध्यमबीच खरेलको अन्तर्वार्ता लिने होडबाजी नै चलेपछि महानिरीक्षक अर्यालले प्रहरी कर्मचारीले सञ्चारमाध्यममा आफूखुसी अन्तर्वार्ता दिन नमिल्ने ‘सिस्टम’ बसाल्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार भारत भ्रमणबाट फर्किएलगत्तै उनले मिडियामा अन्तर्वार्ता दिँदा महानिरीक्षकको पूर्वअनुमति लिनुपर्ने नियम बसाउन लागेका हुन् । अर्याल यसै साता चार दिने भ्रमणका लागि भारत जाने तयारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us