जनक शिक्षामा चरम ढिलासुस्ती

काठमाण्डु टुडे २०७० फागुन ८ गते ८:४१ मा प्रकाशित

janaksikshya_1329370459काठमाण्डु, ८ फागुन – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिकसत्रका लागि अझै एक करोड १९ लाख १८ हजार ५ सय ६६ थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी देखिएको छ ।

नयाँ शैक्षिक शत्र सुरु हुन केही महिनामात्र बाँकी रहेकाले शिक्षा विभागले केन्द्रको कार्यक्षमता बढाउन ताकेता गरेको छ ।

आगामी शैक्षिकसत्रका लागि कुल अनुमानित पाठ्यपुस्तकअनुसार हालको छपाइको तयारीको अनुपातलाई आधार मान्ने हो भने यस वर्षको चैत मसान्तसम्ममा पनि करिब ४६ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकी हुने देखिन्छ ।

वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र २०७१ मा कुल दुई करोड २५ लाख ६५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएकामा फागुन ६ गतेसम्मको छपाइ तयारी ९० लाख ३८ हजार १७ थानमात्र देखिएकाले ताकेता गरिएको शिक्षा विभागका उपनिर्देशक राकेश श्रेष्ठले जानकारी दिए ।

कभर छाप्न बाँकी १६ लाख आठ हजार ४१७ थान पाठ्यपुस्तक रहेका आधारमा जम्मा एक करोड छ लाख ४६ हजार ४३४ थान पाठ्यपुस्तक तयारी अवस्थामा रहेको जनक शिक्षाका कामु उपनिर्देशक सुजन नेपालले बताउनुभयो । केन्द्रले हाल दैनिक एक लाख ३२ हजार थान पुस्तक उत्पादन गर्दै आएको छ ।

केन्द्रले क्षेत्रीय कार्यालय भरतपुर, पोखरा, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा रहेको सञ्चित विवरण पनि विभागलाई नियमित रुपमा उपलब्ध गराउँदै आएको छ ।

विभागले उपनिर्देशक श्रेष्ठको संयोजकत्वमा सरोकारवाला संस्थाका प्रतिनिधिसहितको उपसमिति गठन गरी पाठ्यपुस्तक तयारी र वितरणको अवस्थाको अनुगमन पनि गरिरहेको छ तर उपसमितिमा निजी क्षेत्रका प्रकाशनको विवरण प्राप्त हुन सकेको छैन ।

अनुगमन समितिका सदस्य अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जनक शिक्षाले नभ्याउने भए त्यसको उपयुक्त विकल्पका लागि समयमै छलफल हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us