अस्पतालको बजेट नगरपालिकाद्वारा रोक्का

काठमाण्डु टुडे २०७० फागुन ७ गते ८:३३ मा प्रकाशित

korea-nepal-hospital-300x200भक्तपुर, ७ फागुन – दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण भई मध्यपुरथिमि नगरपालिकाको संयोजनमा सञ्चालन हुँदै आएको कोरिया नेपाल मैत्री अस्पतालको बजेट नगरपालिकाले रोक्का गरेको छ ।

स्थानीय निकायको संयोजनमा २४ सैँ घण्टा सञ्चालनमा रहेको ५० शय्याको यो अस्पताल सञ्चालनका लागि हरेक वर्ष मध्यपुरथिमि नगरपालिकाले वार्षिक १६ लाख बजेट दिँदै आएकोमा यस वर्ष भने आर्थिक वर्ष सुरु भएको सात महिना बित्दा पनि नगरपालिकाले बजेट निकासा नगरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

नगरपालिकाले बजेट नपठाएपछि अस्पतालको दैनिक प्रशासन सञ्चालनमा समस्या आएको उल्लेख गर्दै कोरिया जान इपिएस फाराम भरेकाहरुको स्वास्थ्य परीक्षणबाट सङ्कलित रकमबाट मुश्किलले प्रशासन खर्च चलाउनुपरेको अस्पतालको भनाइ छ ।

स्थानीय विकास मन्त्रालयले अस्पतालको लागि चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरी पठाएको रु २५ लाखसमेत नगरपालिकाले अस्पतालाई नदिई आफ्नै खातामा जम्मा गरेर राखेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यतिमात्रै नभई नगरपालिकाका कर्मचारीलाई सुलभरुपमा स्वास्थ्य सेवा दिएबापत नगरपालिकासँग गरिएको स्वास्थ्य बिमाबापतको वार्षिक एक लाखसमेत नगरपालिकाले अस्पताललाई निकासा नगरिदिँदा अस्पतालमा आर्थिक सङ्कट परेको जनाइएको छ ।

स्थापनाको केही वर्षमै नेपालको एकमात्र छारेरोग (एपिलेप्सी) अस्पतालको रुपमा विकसित हुँदै आएको सो अस्पतालमा हाल दैनिक १०० भन्दा बढी बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् भने दुई वर्षअघिदेखि सुरु गरिएको छारेरोगको ५०० भन्दा बढीले उपचार गराइरहेको अस्पतालका निर्देशक भीमसेन थापाले जानकारी दिए ।

निर्देशक थापाले नगरपालिकाले अस्पताललाई दिने रकम निकासा गरिदिन पत्राचार र मौखिक रुपमा पहल भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us