अख्तियारमा निर्माण र शिक्षासम्बन्धी उजुरीको चाङ

काठमाण्डु टुडे २०७० फागुन ७ गते ५:५९ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogसुर्खेत, ७ फागुन – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालयमा निर्माण र शिक्षासम्बन्धी  हिनामिनाका उजुरीहरूको चाङ लागेको छ ।

आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा स्थापना भएको पाँच महिनाको अबधिमा पाँच सय चार उजुरी परेकोमा त्यसमा पनि निर्माणसम्बन्धीका धेरै उजुरी रहेको आयोगका उपसचिव भानदेव बडुले जानकारी लिए ।

उनका अनुसार माघ २० गतेसम्म सबैभन्दा बढी उजुरी आर्थिक हिनामिनासम्बन्धीका रहेका छन् र ती शिक्षासँग सम्बन्धित छन् ।

हाल शिक्षासम्बन्धी १४४, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत १०६, वनतर्फ ७७, भूमिसुधारतर्फ २९, गृहतर्फ २२, भौतिक पूर्वाधारमा २३, सिँचाइमा १४, स्वास्थ्यमा १५, सहरी विकासअन्तर्गत १३ र वाणिज्य तथा आपूर्तितर्फ ११ उजुरी परेका छन् ।

यस्तै अर्थसम्बन्धी ९, कृषि विकास १०, सूचना तथा सञ्चार ७, सहकारी तथा गरिबी निवारण ६, ऊर्जा ७, महिला वालबालिका ४, शान्ति मन्त्रालय ३, युवा तथा खेलकुद, विज्ञान प्रविधि, संवैधानिक निकाय र पर्यटन तथा नागरिक उड्डयनतर्फ  एक/एक वटा उजुरी कार्यालयमा आएको प्रवक्ता बडुको भनाइ छ ।

उनका अनुसार ती उजुरीहरूमध्ये पाँचवटाको विस्तृत अनुसन्धान सुरु गरिएको छ । शिक्षा, सङ्घीय मामिला तथा स्थानीय, वन र भूमि सुधारअन्तर्गतका एक÷एक वटा उजुरीमा विस्तृत अनुसन्धान सुरु गरिएको बडुले जानकारी दिए । बडुका अनुसार ती उजुरीमध्ये पनि वास्तविक भ्रष्टाचारसँग सम्बन्धित २३० उजुरी रहेका छन् । २७४ अनुचित कारबाही र १५ उजुरी तामेलीमा परेको उनले बताए ।

सबैभन्दा बढी उजुरी पर्नेमा भेरी अञ्चल छ, त्यसमा पनि जिल्लागतरूपमा बाँके जिल्लाबाट सबैभन्दा बढी १२८ उजुरी परेका छन् । सुर्खेतबाट ९५, बर्दियाबाट ३२, दैलेखमा १९ र जाजरकोटबाट २० उजुरी परेका छन् । त्यस्तै राप्ती अञ्चल उजुरीका आधारमा दोस्रो स्थानमा  छ । दाङबाट ६३, रुकुम २१, रोल्पा १४, सल्यान १४ र प्यूठानका चार उजुरी परेका छन् ।

जम्मा ९४ उजुरी परेको कर्णाली अञ्चल भने मध्यपश्चिममा सबैभन्दा कम उजुरी पर्ने अञ्चलका रूपमा रहेको बडुले बताए । बडुले कर्णालीको जुम्लाबाट २७, कालीकोट २७, मुगु २२, हुम्ला १२, डोल्पाका छ उजुरी परेको जानकारी दिए ।

कार्यालयमै ९२ उजुरी परेकामा क्षेत्रीय प्रशासन कार्यालयबाट २८३, जिल्ला प्रशासनबाट २३४ र  केन्द्रबाट ९५ उजुरी परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us