इटलीमा नयाँ सरकार गठन गरिने

काठमाण्डु टुडे २०७० फागुन ६ गते ०:४८ मा प्रकाशित

इटलीका राष्ट्रपतिले देशको डेमोक्रयाटिका पार्टीका नेता माटाइओ रेन्ट्सी लाई नयाँ सरकार गठन गर्न भनेका छन्। उनन्चालिस वर्षीय रेन्ट्सी फ्लोरेन्स शहरको मेयरको रुपमा चर्चामा आएका थिए र उनी कहिल्यै संसद सदस्य भएका छैनन्।

इटलीका राष्ट्रपति जर्जिओ नेपोलिटानोले सोमबार बिहान एउटा बैठकपछि फ्लोरेन्सका मेयर माटाइओ रेन्ट्सीलाई नयाँ सरकार गठन गर्न भनेका थिए।

सत्तारुढ डेमोक्र्याटिक पार्टीको आन्तरिक चुनावमा पराजीत भएपछि प्रधानमन्त्री एनरिको लेट्टाले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए।

रेन्ट्सी कहिल्यै संसदमा चुनिएका छैनन्, त्यसकारण पनि निकै लोकप्रिय मानिन्छन्। तर कतिपय राजनीतिज्ञहरु अनुभवको कमीका कारण उनी सफल हुनेमा आशँका व्यक्त गर्दछन्।संसदको तेश्रो ठूलो दल फाइभ स्टार मुभमेन्टकी एलेना फतोरीले भनिन्, “उनी एकजना राम्रो वक्ता हुन्, तर रेन्ट्सी संग राष्ट्रिय राजनीतिमा कुनै अनुभव छैन। न त उनीसँग अन्तर्राष्ट्रिय वा युरोपेली राजनीतिको नै कुनै अनुभव छ, न आर्थिक दक्षता। अझ महत्वपूर्ण कुरा त उनी इटलीको पुरानै राजनीतिको एक अभिव्यक्ति हुन्।”

नयाँ सरकार गठन गर्ने निम्तो पाएपछि मध्यवामपन्थी पार्टीका नेता रेन्ट्सीले सुधारका महत्वाकाँक्षी कार्यक्रमहरु सार्वजनिक गरेका छन्।उनले आफ्नो पुरै उर्जा तथा उत्साह देशको संविधान, श्रम बजार, शिक्षा तथा कर प्रणालीको सुधारमा लगाउने वाचा पनि गरे।

रेन्ट्सीलाई आउँदो बिहीबार नयाँ प्रधानमन्त्रीको रुपमा शपथ दिलाईने अपेक्षा गरिएको छ।त्यसपछि उनले इटलीको संसदका दुबै सदनमा आफ्नो बहुमत देखाउनु पर्नेछ।नयाँ सरकार गठन गर्न उनले अरु साना दलहरुको पनि समर्थन प्राप्त गर्नुपर्नेछ। इटलीको कमजोर आर्थिक प्रदर्शनलाई लिएर एनरिको लेट्टा सरकारको आलोचना बढेको थियो। रेन्ट्सीले अनिश्चयको वातावरण अन्त्य गर्न पनि नयाँ सरकार बनाउनु पर्ने बताएका थिए।

इटली राजनीतिक परिवर्तनका लागि अधैर्य छ र रेन्ट्सीको युवा उमेर, गतिशीलता तथा व्यापक सुधारका लागि उनको आह्वानले गर्दा उनलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइपुराएको छ। इटलीका मतदाताहरुको स्थापित राजनीतिक नेतृत्वप्रतिको विश्वास पनि निकै घटेर गएको देखिएको छ। त्यसैले राजनीतिक अनुभवको कमीले उनको आकर्षण बढाइदिएको हुनसक्छ। यद्यपि राजनीतिक अस्थिरता र बेरोजगारी लगायतका जटिल आर्थिक समस्याहरुसँग जुध्न उनको नेतृत्व कौशल भने हेर्न बाँकी नै छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us