सुशील ‘दा’ले अपहरण गरेका थिए दुर्घटनाग्रस्त जहाज

काठमाण्डु टुडे २०७० फागुन ५ गते ५:०६ मा प्रकाशित

काठमाण्डु, ५ फागुन – पोखराबाट जुम्ला जाने क्रममा आइतबार बेपत्ता भएको ९ एन एबीबी टि्वनअटर त्यही विमान हो, जुन ४० वर्षअघि सशस्त्र क्रान्तिका लागि रकम जुटाउन नेपाली कांग्रेसले विराटनगरबाट अपहरण गरी भारतको फारबिसगन्ज पुर्‍याएको थियो ।

२०३० साल जेठ २८ गते भएको जहाज अपहरणमा कांग्रेसका तत्कालीन युवा नेता सुशील कोइराला -वर्तमान प्रधानमन्त्री) को समेत भूमिका थियो । कोइरालाको भूमिका अपहरणपछि विमान अवतरण गराउने स्थानको खोजी गर्ने थियो । त्यही काण्डमा उनले ३ वर्ष भारतीय जेलमा बस्नु परेको थियो ।

कांग्रेसले पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र बहालीका लागि चलाएको सशस्त्र क्रान्तिका लागि रकम जुटाउन गरिएको उक्त विमान अपहरण दक्षिण एसियाकै पहिलो थियो ।

उक्त दिन बिहान ८:१५ मा विराटनगर विमानस्थलबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारु काठमाडौं आउँदै गरेको थियो । यात्रुका रूपमा जहाज चढेका कांग्रेसका तत्कालीन कार्यकर्ताहरू दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले पाइलटलाई पेस्तोल र गि्रनेड देखाएर अपहरण गरी भारतको फारबिसगन्ज पुर्‍याएका थिए । विमान क्याप्टेन आर.के. मानन्धर, को-क्याप्टेन श्रीदेव वैद्य र परिचालक जी.वी. राईसहित चार महिला, एक बच्चा र ९ पुरुष यात्रु थिए ।

अपहरणकारीले ३० लाख भारु लिएपछि विमान र यात्रुलाई केही नगरी फर्काइदिएका थिए । विराटनगरबाट उडेको २७ मिनेटमै विमान फेरि विराटनगर आइपुगेको थियो । त्यति बेला जहाज चढ्दा जाँच गरिन्नथ्यो, साधारण बस चढेजस्तै गरी विमानस्थल प्रयोग गर्न पाइन्थ्यो । त्यो घटनापछि यात्रुले जहाज चढ्नुअघि सुरक्षा जाँचको व्यवस्था गरिएको हो ।

चालक दलका सदस्य र अपहरणकारीबीच लामो समय घम्साघम्सी चलिरहे पनि कतिपय यात्रुलाई जहाज अपहरणमा परेको थाहा थिएन । ‘बरु विमान दुर्घटना भयो भनेर हामी भगवान्को नाम जप्दै रुन, कराउन थाल्यौं,’ उक्त विमानमा सवार काठमाडौंकी जया अधिकारीले सोही अपहरणबारे बनाइएको ‘प्रजातन्त्रका लागि अपहरण’ डकुमेन्ट्रीमा सम्झेकी छन्, ‘अपहरणमा परेको ३० वर्षसम्म मैले अरू कुनै विमान चढिनँ । आज पनि मलाई विमान चढ्न डर लाग्छ ।’

अपहरण क्रममा बीपी पुत्र प्रकाश कोइराला योजना बनाउन व्यस्त थिए भने भाइ शेखर कोइराला सोही जहाजको टिकट काटेर काठमाडौं उड्न लागेका थिए । अन्तिम समयमा टिकट क्यान्सिल नगरेको भए शेखर पनि अपहरणमा पर्ने थिए । ‘त्यो हदसम्मको गोप्यता अपनाइएको थियो,’ शेखरले भने ।

त्यति बेला लुटिएको रकमलाई अहिलेको मूल्यमा दाज्दा झन्डै एक अर्ब रुपैयाँ हुन्छ । त्यति बेला सुनको मूल्य २ सय ९४ रुपैयाँ प्रतितोला थियो भने अहिले ५६ हजार छ । उक्त अपहरणपछि बैंकको रकम स्थानान्तरणमा हेलिकप्टर चार्टर गर्न थालियो ।  फारबिसगन्जमा विमान अवतरण गरी र्फकंदासम्म नेपाल र भारत दुवै मुलुकका सुरक्षा निकायले सुइँको पाएका थिएनन् ।

अपहरणका मुख्य योजनाकार भने कांग्रेस नेता गिरिजाप्रसाद कोइराला थिए । उनलाई सुशील, चक्र बास्तोला, मनोहरि बराल, मदन अर्याल, विनोद अर्याललगायतले सघाएका थिए । गिरिजाप्रसाद, बराल, चालक मानन्धर र सहचालक वैद्यको निधन भइसकेको छ ।

वैद्यको दुई वर्षअघि फेब्रुअरी १६ मा मृत्यु भएको थियो । विमान हराएको दिन आइतबार पनि संयोगले १६ तारिख नै परेको छ । बीचमा लामो समय ग्राउन्डेड भएको उक्त जहाज केही महिनायता मात्र सञ्चालनमा ल्याइएको थियो

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us