नेम्वाङ संविधानसभा अध्यक्ष बन्ने लगभग पक्का

काठमाण्डु टुडे २०७० फागुन ४ गते ८:४८ मा प्रकाशित

subash nembangकाठमाण्डु, ४ फागुन – कांग्रेसले समर्थन गर्ने भएपछि नेकपा एमालेका सभासद् सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष हुने लगभग पक्का भएको छ ।

एमालेले संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका नेम्वाङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले नेम्वाङलाई मतदान गर्ने जनाएको छ ।

एमालेले यस अघि नै नेम्वाङलाई संविधानसभा अध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । आइतबार सिंहदरवारमा बसेको स्थायी कमिटि बैठक पछि एमाले अध्यक्ष झलनाथ खनालले नेम्वाङलाई मतदान गर्न कांग्रेसलगायत दललाई आग्रह गरे ।

एमाले र कांग्रेसबीच माघ २६ गते भएको ७ बुँदे सहमति अनुसार संविधानसभा अध्यक्षमा एमालेका उम्मेदवारलाई मतदान गर्ने काँग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमति कार्यान्वयन गर्दै एमालेका उम्मेदवारलाई मतदान गर्ने कुरामा शंका नगर्न आग्रह गरे ।

एमालेसँग भएका सहमति कार्यान्वयन गर्न काँग्रेसले कुनै कसर बाँकी नराख्ने भन्दै नभएका सहमति कार्यान्वयन गर्न दवाव दिनु जायज नभएको टिप्पणी गरे ।

उनले एमालेलाई गृहमन्त्रालय एमालेलाई दिने सहमति नभउको दावी गरे । दुई दलबीच भएको ७ बुँदे सहमती अनुसार एमालेले प्रधानमन्त्रीमा काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने र काँग्रेसले संविधानसभा अध्यक्षमा एमालेका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको थियो ।

यसैबीच एकीकृत नेकपा माओवादीले पनि संविधानसभाको अध्यक्षमा आफ्नो दावी रहेको बताएको छ । संविधानसभामा पत्रकारसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको संविधानसभामा तेस्रो पार्टीले  संविधानसभाको अध्यक्ष पाएकाले यसपटक पनि सहमतीमै एकीकृत माओवादीलाई अध्यक्ष दिनुपर्ने बताए ।

संविधानसभाको आइतबारको बैठकले मंगलबार अध्यक्षको चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । राजनीतिक सहमतिका आधारमा अध्यक्ष चयन गर्न सोमबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रस्ताव दर्ता गर्ने र साढे २ बजे प्रस्ताव बमोजिमका उम्मेदवारको नामावली सार्वजनिक गर्ने चुनावी तालिका छ ।

सहमति नभए बहुमतीय प्रक्रियामा अध्यक्ष चयन गर्न पर्सि चुनाव हुनेछ । मंगलबार विहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, साढे २ बजे उम्मेदवारको नाम सार्वजनिक गर्ने र बेलुकी ५ बजे निर्णयार्थ संविधानसभामा पेश गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us