गृह मन्त्रालय पाए पनि सरकारमा जाँदैनौं : विष्णु पौडेल

काठमाण्डु टुडे २०७० फागुन ३ गते ९:२१ मा प्रकाशित

Bishnu Paudel UMLकाठमाण्डु, ३ फागुन– नेकपा एमालेका सचिव विष्णु पौडेलले नेपाली कांग्रेसले सहमति तोडेको भन्दै प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द भएको बताएका छन् ।

रिपोटर्स क्लबमा भएको कार्यक्रममा पौडेलले कांग्रेसले सहमति तोडेर सुरुवातमै धोका दिएको बताए । ‘अब गृह मन्त्रालय दिए पनि एमाले सरकारमा जाँदैन,’ पौडेलले भने, ‘प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारमा जाने ढोका बन्द भयो । हामी सरकारमा जाँदैनौं । कांग्रेसकै कारण एमाले सरकारमा जाने सम्भावना समाप्त भयो ।’

सरकारमा जाने विषयमा अब कांग्रेससँग वार्ता हुन नसक्ने भन्दै पौडेलले वामदेब गौतमको नेतृत्वको विषयमा काग्रेससँग कुनै सम्झौता नहुने बताए ।

एमालेलाई उपप्रधानसहित गृह मन्त्रालय दिने विषयमा बार्ता टोली र शीर्ष नेताको तहमा सहमति भएको भन्दै पौडेलले आवश्यक पर्दा सहमतिको प्रमाण देखाउन तयार रहेको स्पष्ट पारे ।

सचिव पौडेलले सरकारलाई दिएको समर्थन सरकारको कामको आधारमा रहने नरहने भन्ने निष्कर्षमा पुग्ने भन्दै राम्रो काम गरे समर्थन कायम रहने र नराम्रो काम गरे फिर्ता हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us