एनएमएबाट पाठ सिक काँग्रेस,एमाले र एमाओवादी

काठमाण्डु टुडे २०७० फागुन ३ गते ६:३७ मा प्रकाशित

पर्वतीय पर्यटन नेपालको आम्दानीको प्रमुख स्रोत हो । नेपाल समृद्धिका लागि स्वदेशी तथा बिदेशी पर्यटकको बिकास र बिस्तार अनिवार्य शर्त हो । पर्यटन व्यवसायी वीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले पर्यटनको बिकास र बिस्तार गर्न सकिन्छ । नेपाल पर्वतारोहण संघ (एनएमए) पर्वतीय पर्यटन बिकास र बिस्तार गर्ने महत्वपूर्ण निकाय हो । जसले सरकारसँग मिलेर नीति नियम बनाउन सक्छ । त्यस्तो निकायमा हाम्रा होइन राम्रा मान्छेले नेतृत्व गर्नु पर्छ । राजनीति स्वार्थ भन्दा माथि उठेर मात्रै त्यस्ता राम्रा मानिस त्यस्तो निकायमा पुग्न सक्छन । NMA 1
एनएमएलाई स्वस्थ र सक्षम बनाउने सबै भन्दा गतिलो माध्यम भनेको आर्थिक पारदर्शीता र व्यवसायिक हक हितमा केन्द्रित गराउनु नै हो । काँग्रेस,एमाले र एकीकृत माओवादीमा आस्था राख्ने व्यवसायीहरुले एनएमएलाई गतिलो र स्वस्थ निकाय बनाउनका लागि सहकार्य गर्ने निधो गरेका छन । तीन वटै पार्टी प्रति आस्था राख्ने व्यवसायीहरुले संयुक्त प्यानल बनाएर अन्य राजनीतिक दलमा आस्था राख्नेलाई पनि त्यो प्यानलमा आउन आब्हान गरेका छन । यो आफैमा सकारात्मक कदम हो । निहित स्वार्थ राख्ने बाहेक अरुले संयुक्त प्यानल बनाएर अगाडि बढनु नै हितकर हुन्छ ।
पर्यटकीय पर्यटन क्षेत्रको प्रतिनिधिमुलक संस्था भएकोले एनएमए हिमाली क्षेत्रका स्थानीय समुदायसँग सहकार्य गरी अगाडि बढने नीति अवलम्बन गर्नु पर्दछ । आगामी ९ गते हुने निर्वाचनमा संयुक्त प्यानलले सन २०१४ मा हुने चोयु हिमालको हिरक महोत्सव,सन २०१५ मा हुने कञ्चनजंघा र मकालु हिमालको हिरक महोत्सव,सन २०१६ मा हुने मनास्लु र लोत्से हिमालको हिरक महोत्सवमा भब्यतापूर्वक मनाउन बिश्वमा रहेका पर्वतारोहीहरुलाई नेपालमा आकर्षण गराउने योजना बनाएको छ । नेपालमा रहेका आठ हजार मिटर भन्दा अग्ला १६ वटा हिमाल छन । ती मध्ये हाल आठ वटा मात्रै अन्तराष्ट्रियस्तरमा परिचित छन । थप आठ वटा हिमालहरुलाई अन्तराष्ट्रिय रुपमा परिचित गराई पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्ने संयुक्त प्यानलको योजना छ ।
जलवायु परिवर्तनको नकारात्मक असरले नेपालको हिमालय क्षेत्रमा देखिएका समस्या समाधानमा पहल गर्ने,पर्वतारोहणका लागि उपयोगी हिमालहरुको प्रोफाइल बनाएर पर्वतीय पर्यटनमा योगदान पुरयाउने,पर्वतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादन,व्यवस्थापन र प्रबद्धनात्मक गतिबिधि सञ्चालन गर्ने,पर्वतीय पर्यटन बिस्तारका लागि सरकारसँग मिलेर नीति र रणनीति बनाएर अघि बढने प्रतिबद्धता संयुक्त प्यानलले व्यक्त गरेको छ । त्यतिले मात्रै पुग्दैन सरोकारवाला निकायसँग थप छलफल र परामर्श गरेर अगाडि बढने प्रण गर्नु पर्दछ । निर्वाचनको प्रतिस्पर्धामा आउनेहरुसँग पनि मिलेर जाने आँट र साहस गर्नु पर्दछ । कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन ।
एनएमए एउटा व्यवसायिहरुको संगठन हो । त्यहाँ पनि बिभिन्न राजनीतिक दलका प्रतिनिधि छन । उनीहरुका आ आफना बिचार र दर्शन छन तर व्यवसायिक हक हित उनीहरुका साझा बिषय हुन । त्यसका लागि उनीहरुले जुन सहकार्यको नमूना प्रदर्शन गरेका त्यो नेपालका राजनीतिक दलका शिर्ष नेतृत्व र अन्य व्यवसायिक संघ संगठनले सिक्नु पर्ने गतिलो पाठ हो । नेपालका राजनीतिक दलले एनएमएबाट पाठ सिके संबिधान बन्न सक्छ,मुलुकले स्थिरता पाउन सक्छ र मुलुक समृद्धिको दिशमा तीब्र गतिमा अघि बढन सक्छ । त्यसो भएमा दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्न सकिन्छ । बिदेश पलायन युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । राजनीति जनताको जीवनस्तरमा परिवर्तन गर्न,मुलुकलाई समृद्ध र स्वतन्त्र राख्नका लागि हो । अहिले काँग्रेस र एमालेका नेताहरुले गृहमन्त्रालयका लागि  देखाएको किचलोले मुलुकलाई कहि पनि पुरयाउँदैन,सहकार्यको संस्कार र राजनीतिले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउँछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us