हात्ती आतंक बढेपछि स्थानीयले गाउँ छाड्न थाले

काठमाण्डु टुडे २०७० फागुन २ गते १३:४६ मा प्रकाशित

चितवन, २ फागुन– दक्षिण चितवनको माडीस्थित गर्दीको वडा नं १ अमिलियामा हात्ती आतंक बढ्दै गएपछि स्थानीयवासी गाउँ छाड्न थालेका छन् ।

घरमा सुतिरहेकै बेला हात्तीले आक्रमण गरेर मानिसको ज्यान लिन थालेपछि स्थानीयवासी त्रासले गाउँ छाड्न थालेका हुन् ।

कतिपयले गाउँ छाडेका छन् भने कतिपय नजिकको स्कुलमा बास परेको समाजसेवी ईश्वरी ढकालले बताउनुभयो । उनीहरु अहिले छिमेकी गाउँ भैरवपुरमा आएर बसेको स्थानीयवासीले बताएका छन् ।

गत माघ २२ गते स्थानीय ४५ वर्षीय शेरबहादुर दर्जीको हात्तीले ज्यान लिएपछि स्थानीयमा त्रास छाएको थियो । अहिले दैनिक गाउँमा हात्ती पसेर आक्रमण गर्ने र लगाएको तथा थन्क्याएको बालीनाली नष्ट गर्न थालेपछि त्रासले स्थानीयले गाउँ छाडेको ढकालले जानकारी दिए ।

प्रायः रातिको समयमा चितवन निकुञ्जबाट हात्ती वस्तीमा आउने गरेकाले राति गाउँमा बस्न नसकिएको पीडितले बताएका छन् ।

चितवन निकुञ्जलाई पटकपटक हात्ती नियन्त्रणका लागि आग्रह गरिएको भएपनि माग सुनुवाइ नभएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । माडीको गर्दी अमिलिया चितवन निकुञ्जसँग जोडिएको वडा हो । यहाँ दुई दर्जन घर रहेको छ ।

चितवनमा गत साउनदेखि अहिलेसम्म वन्यजन्तुको आक्रमणबाट  सातजनाको ज्यान गइसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us