हत्याको आरोपमा एकै परिवारका तीनजना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १ गते ९:१३ मा प्रकाशित

ओखलढुङ्गा, १ फागुन – ओखलढुङ्गाको पलापु गाविस–८ का ६० वर्षीय ज्ञानबहादुर माझीको हत्याको आरोपमा एकै परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पलापु गाविस–८ का ५० वर्षीय चित्रबहादुर माझी उनका छोरा २२ वर्षीय कमल माझी र १८ वर्षीय सुरेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयले गिरफ्तार परेका तीनैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाई बुधबार मुद्दा अदालतमा पेस गरेको छ ।

मङ्सिर १९ गते आरोपितसँग विवाद भएपछि ज्ञानबहादुर बेपत्ता भएका थिए । यसअघि उनीहरुलाई प्रहरीले पक्राउ गरेर पुस ३ गते अपहरण तथा बेपत्ता बनाउने कसुर गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा सरकारी वकिलको कार्यालयले पुस २९ गते थप अनुसन्धान गर्न राय दिई फायल फिर्ता गरेको थियो । जिल्ला न्यायाधिवक्ता एकराज अधिकारीले प्रमाण अभाव भन्दै थप अनुसन्धान गर्ने फायल फिर्ता गरेका थिए ।

सरकारी वकिलको कार्यालयले सुरुमा अपहरणसम्बन्धी मुद्दामा प्रमाण नपुगेको भन्दै फायल फिर्ता गरेको यो घटनालाई कर्तव्य ज्यानमा रुपान्तरण गरिएको छ र यससम्बन्धी मुद्दा अदालतमा पेस भएको छ ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us