दुई माओवादी मिल्नुको विकल्प छैन: प्रचण्ड

काठमाण्डु टुडे २०७० फागुन १ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १ फागुन– एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफूबाट अलग्गिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई तत्काल PushpaKamalDahalPrachandaपार्टी एकतामा आउन अपिल गरेका छन् ।
घनश्याम ढकाल स्मृति प्रतिष्ठानले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले एक घण्टा पनि ढिला नगरी पार्टी एकता थाल्नुपर्ने बताएका हुन् ।

क्रान्तिकारी शक्तिहरुबीचको फुट र विभाजनले अर्को पक्षलाई फाइदा पुगेकाले दुई माओवादी मिल्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले दोस्रो संविधानसभा निर्वाचनमा पराजित हुनुमा पार्टी विभाजन मुख्य कारण रहेको चर्चा गर्दै विगत बिर्सिएर एकताका लागि पहल गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

‘क्रान्तिकारी शक्तिबीच फुट आएकाले प्रतिक्रियावादी वर्गलाई फाइदा पुग्यो’, प्रचण्डले भने, अब एकता गर्न विल्कुल ढिला गर्नु हुँदैन ।’ उनले पार्टी एकताबारे दुई पार्टीबीच संवाद भइरहेको पनि खुलाए ।

प्रचण्डले पार्टी वर्गउत्थान र वर्ग समन्वयको शिकार भएकाले ती दुवै प्रवृतिविरुद्ध जुध्न कार्यकर्तालाई निर्देशन दिए ।

यसैबीच एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षमा संविधान नबन्ने आशंका बढेर गएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले एउटा मन्त्रालयको विषयमा किचलो गर्ने दुई ठूला दलले समयमै संविधान दिन नसक्ने बताए ।

६ महिना भित्र संविधानको मस्यौदा तयार हुने कुरामा शंका रहेको प्रचण्डको भनाइ थियो । ‘एउटै मन्त्रालयका विषयमा यति धेरै किचलो गर्नेले समयमै संविधान कसरी दिन सक्छन्’ प्रचण्डले भने, ‘दुई ठुला दलबीच विवाद बढ्दै जाँदा समयमै संविधान बन्ने विषयमा आशंका बढेको छ ।’

आफूहरु एक वर्ष भित्र संविधान जारी गर्न प्रयत्नशील रहेको उनले दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us