
काठमाण्डु, १ फागुन– सत्ता साझेदार एमालेसँग गृह मन्त्रालयको विवाद बढिरहेकै बेला प्रधामन्त्री सुशील कोइराला पारिवारिक सदस्यहरुको दबाबका कारण थप अप्ठेरोमा परेका छन् ।
स्रोतका अुनसार सुजाता कोइराला, शेखर कोइराला र महेश आचार्यले महत्वपूर्ण मन्त्रालयमा दाबी गरेपछि कोइराला अप्ठेरोमा परेका हुन् । स्रोतका अनुसार सुजाता र शेखरले परराष्ट्र र आचार्यले अर्थ मन्त्रालयमा दाबी गरेका छन् ।
आचार्यकै दबाबमा अर्थमन्त्रीका अर्का दावेदार रामशरण महतलाई प्रधानमन्त्री कोइरालाले बिनाविभागीय मन्त्रीको सपथ खुवाएका थिए । प्रधानमन्त्रीबाट परराष्ट्र मन्त्रालय पाउने आश्वासन पाएपछि महत बिनाविभागीय मन्त्रीको सपथ खान राजी भएका थिए ।
यस्तै पार्टीभित्रका अन्य समूहलाई समेत मिलाएर लैजानुपर्ने दबाबका कारण कोइराला तनावमा रहेको उनीनिकट स्रोतले जनाएको छ । कोइरालालाई संसदीय दलको नेतामा सघाएका उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिहले उपप्रधानसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले समेत महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने अडान लिएका कारण कोइरालासामु पार्टीभित्रै सन्तुलन मिलाउने चुनौती खडा भएको छ ।