
काठमाण्डु, १ फागुन– नवनियुक्त प्रधानमन्त्री सुशील कोइराला आगामी ३ फागुनमा सरकारी निवास बालुवाटार प्रवेश गर्ने भएका छन् ।
ज्योतिषिले जुराइदिएको शुभसाइतमा कोइराला ३ गते शनिबार बालुवाटार प्रवेश गर्न लागेका हुन् ।
व्यवस्थापिका–संसदबाट माघ २८ मा प्रधानमन्त्री निर्वाचित भएका कोइरालाले त्यसको भोलिपल्ट राष्ट्रपतिबाट सपथ लिएका थिए । कोइरालाका सहयोगीले ३ फागुनमा सरकारी निवास प्रवेश गर्न तय भएकाले आवश्यक तयारी गर्न बालुवाटारमा जानकारी गराएका छन् ।
कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि पनि महाराजगञ्जस्थित निजी निवासमा बस्दै आएका छन् । निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भने कोइरालाले पद बहाली गरेकै दिन मंगलबार नै बालुवाटारबाट बाहिरिइसकेका छन् ।
उनले बुधबार आफ्नो सामान नयाँबानेश्वरस्थित निजी निवासमा सारेका छन् ।