यस्ता छन् प्रधानमन्त्री कोइराला

काठमाण्डु टुडे २०७० माघ २७ गते ९:४४ मा प्रकाशित

sushilकाठमाण्डु, माघ– सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका सभापति सुशील कोइराला संघीय गणतान्त्रिक नेपालको छैटौँ प्रधानमन्त्रीमा चयन भएका छन् । सन्त नेताको रुपमा परिचित ७४ वर्षीय कोइराला अविवाहित हुन् ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइराला सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आइरहेका छन् । यही मार्गबाट हिँडेर अगामी एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जनतालाई दिने प्रण गरेका छन् ।

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनीदेवी कोइरालाबाट विसं १९९५  साउन २८ गते सिन्धुलीको दुम्जा गाउँ विकास समितिमा उनको जन्म भएको थियो । बाल्यकालदेखि नै  राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गर्नुभएका नेपाली काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए । यसपछि विसं २०१२ मा उहाँ नेकाको सदस्यता लिई पार्टीको काममा होमिएका थिए । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उहाँले पार्टी सदस्यता लिएका थिए ।

विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि कोइराला भारत निर्वासनका गएका थिए ।

‘राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो,’ भन्ने कोइरालाले प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागिरहे । पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गरे ।

विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उनी निर्वासनबाटै पक्राउ परे । पक्राउपछि उनलाई दिल्ली जेलमा राखिएको थियो । अत्यन्त क्रुर र अमानवीय रुपमा उहाँलाई जेलमा राखिएको हुँदा उनले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो ।

छ वर्ष जेल जीवनपछि उनी रिहाइ भए । रिहाइपछि जनमत संग्रहका समयमा कोइराला बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किए । त्यसपछि उनी सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे । जननायक बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उनी युरोपियन मुलुकमा खटिए ।

यस क्रममा उनी सोसलिष्ट इन्टनेसनलको उपाध्यक्ष समेत बनेका थिए । त्यसपछि कोइराला स्वदेश फर्किएर पञ्चायत  व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिए । विस २०४६ को प्रथम जन आन्दोलनमा पनि उनको योगदान अतुलनीय थियो । त्यसपछि विसं २०४८ को संसदीय निर्वाचनमा कोइराला बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए ।

उसबेला उनलाई मन्त्री पदका लागि आग्रह गरिँदा कोइरालाले पदभन्दा पार्टीलाई माथि राखेर पार्टीकै काममा नै खटिए । उनले हालसम्म कुनै सार्वजनिक पद धारण गरेका छैनन् ।

विसं २०५६ मा सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा कोइराला पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित भए । विसं २०६२–६३ को जनआन्दोलनमा उनले भूमिका निर्वाह गरेका थिए ।

विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा बाँकेबाट पराजित भए । त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा कोइराला बाँके र चितवनबाट सभासद्मा भए । त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् ।

पार्टी यात्रा

विसं २०१२ मा नेकाको पार्टी सदस्य लिएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बनेका थिए । पाटी भित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि हुन् ।

सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उनी परिचित छन् । त्यसपछि उनी पार्टीको महामन्त्रीका रुपमा काम गरे । उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको १२ आँै महाधिवेशनबाट कोइराला कांग्रेसको सभापतिमा निर्वाचित भए ।

सम्पादक कोइराला

नेता कोइरालाले कुशल पत्रकारको रुपमा काम गरेका थिए । पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादक समेत रहेर काम गरे । प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टीलाई नयाँ उचाइ पु¥याएको छ ।

उहाँका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरु विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए ।

हिरो बन्ने चाहना

सुशील कोइरालालाई पहिले सिनेमाको हिरो भन्ने चाहना थियो । भारतमा डान्स  र फोटोग्राफी सिक्न गएदेखि उहाँलाई राजनीतिले मन नहुँदा नहुँदै पनि तानेको थियो ।

उनका भाइ डा अरुण कोइरालाका अनुसार उहाँले भारतका विभिन्न ठाउँमा डान्स र फोटोग्राफीको तालिम लिएका थिए । हिरो बन्नको लागि अमेरिका जाने उनको चाहना तत्कालिन पञ्चायती व्यवस्थाका कारण पूरा हुन सकेन ।

कोइराला विक्रम संवत ०१७ सालमा तत्कालिन राजा महेन्द्रले आफ्नो हातमा राजनीतिक शक्ति लिएपछि सक्रिय राजनीतिमा होमिएका हुन् । सुशीलको स्थायी ठेगाना अहिले बाँकेको नेपालगंजमा हो ।

भ्रमण

कोइरालाले बेलायत, अमेरिका, फ्रान्स, चीन, भारतलगायत युरोपियन मुलुक भ्रमण गर्नुभएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us