बाख्रापालनबाट शिक्षकलाई तलब

काठमाण्डु टुडे २०७० माघ २६ गते ११:०० मा प्रकाशित

सुर्खेत, २६ माघ– जहाँ इच्छा हुन्छ त्यहाँ उपाय निस्कन्छ र कुनै समस्या आए समाधानका लागि जनता एकजुट हुनुपर्छ भन्ने उदाहरण सुर्खेत जिल्लाको कुनाथारीस्थित कुम्भिकोटका जनताले देखाएका छन् ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले नेपाल राष्ट्रिय निमावि कुनाथरी– ९ का लागि थप शिक्षकको दरबन्दी उपलब्ध नगराएका कारण कुम्भिकोटका जनताले खरी जातका बाख्रापालन गरेर शिक्षकको पारिश्रमिकका लागि स्रोत जुटाएका छन् ।

बाख्रापालन समूहले मासिक २१ हजार उपलब्ध गराउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक धर्मराज कार्कीका अनुसार उक्त रकमबाट विद्यालयमा तीन जना शिक्षकले रोजगारी पाएका छन् ।

प्रधानाध्यापक कार्कीका अनुसार विनोद महतारा, मनिषा शाही र सर्वराज विकलाई विद्यालयले शिक्षक पदमा नियुक्ति दिएको छ । उनीहरूले मासिक जनही सात हजार पारिश्रमिक पाउँछन् । विद्यालयमा हाल २ सय ५० जना विद्यार्थीले पढ्दै आएका छन् भने सरकारी शिक्षकको दरबन्दी पाँच रहेको छ ।

कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको र शिक्षा कार्यालयले शिक्षक उपलब्ध नगराएका कारण कृषक समूह गठन गरी व्यावसायिक बाख्रापालन गर्नुपरेको कुम्भिकोट बाख्रापालन कृषक समूहका अध्यक्ष विमलकुमार शाहीले बताए ।

‘बाख्रापालन गरी विद्यालय सञ्चालन गर्न जिल्ला पशुसेवा कार्यालय सुर्खेतले प्राविधिक र आर्थिक सहयोग गरेको हो,’ शाहीले भने ।

कुम्भिकोट पशुपालन कृषक समूहलाई जिल्ला पशुसेवा कार्यालय सुर्खेतले सहकारी गठन, बाख्रापालन तालिम, समूह व्यवस्थापनअन्तर्गत घाँस, औषधि र विमाका लागि छ लाख ८० हजार सहयोग गरेको जिल्ला पशुसेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक मोहन गिरीले बताए ।

बाख्रपालनले निर्वाहमुखी जीवनमा परिवर्तन भई व्यावसायिक बनेका छौँ भन्दै संस्थाकी सदस्य लक्ष्मी पुलामीले कुनाथरी– ९ दमारे, हुर्के, बरडाँडा, कुम्भिकोट, भुटुके, जयपुर, आलेडाँडा र जयपुरका करिब १४० घरधुरीको प्रमुख आधार बाख्रापालन बनेको बताइन् ।

बाख्रापालन सहकारी संस्थाले छवटा समूह गठन गरेको छ । जसमध्ये कुम्भिकोटमा रहेको ७६ वटा बाख्रापालनबाट प्राप्त आम्दानीले विद्यालयका तीन शिक्षक र गोठालो भविसरा गौतमलाई रोजगारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us