प्रेमिकाको प्रसंगले साथीको लियो ज्यान

काठमाण्डु टुडे २०७० माघ २६ गते ९:२७ मा प्रकाशित

इलाम – इलामको माईखोला नजिकै गिट्टी, बालुवा संकलन गरी बिक्री गर्ने एक मजदुरको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शान्तिनगर १ घर भई विगत लामो समयदेखि मजदुरी गर्दै आएका २२ वर्षीय सुमन राईको हत्यामा संलग्न इलामको महमाई ३ का २२ वर्षीय बिच्छी भनिने फूलकुमार धमलालाई पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।

माघ १ गते इलामको नामसालिङ र गोदक गाविसकोबीचमा पर्ने माईबेनी मेलामा अत्यधिक मादक पदार्थ सेवन गरी घर फर्कंदै गरेका सुमन राई र फूलकुमारबीच सामान्य कुरामा विवाद भएको थियो । उनीहरूबीच प्रेमिकाको कुरालाई लिएर विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले भने, ‘प्रेमिकाको विषयमा दुईजनाबीच झगडा हुँदा सुमनको ज्यान गएको आशङ्का गरेका छौँ ।’

 फूलकुमारले मृतक राईलाई अनुहार र टाउकोमा ढुंगाले हिर्काएर हत्या गरेको स्वीकारेका छन् ।

साथीको हत्यापछि फूलकुमार भागेर महमाई पुगेका थिए । प्रहरीले खोजी गरिरहेको छ भन्ने थाहा पाएपछि उनी भागेर पाँचथरको बलने ६ स्थित नातेदारकामा लुकेर बसेका थिए ।

फूलकुमारलाई पक्रन प्रहरी सहायक निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो । पाँचथरमा लुकेर बसेका फूलकुमारलाई माघ २४ गते राति १ बजे प्रहरीले उनी सुतेकै स्थानबाट पक्डेको थियो । उनीविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us