झिलमिलाफाँटाको जडीबुटी युरोप निर्यात

काठमाण्डु टुडे २०७० माघ २५ गते ५:१२ मा प्रकाशित

कञ्चनपुर, २५ माघ – कञ्चनपुरको रौतेली विचवा–९ झिलमिलाफाँटामा उत्पादन भएको जडीबुटी युरोपतर्फ निर्यात हुन थालेको छ । किसान मध्यवर्ती सामुदायिक वनमा आबद्ध ३०० उपभोक्ताले संयुक्त रूपमा उत्पादन गरेको लेमनग्रास, मेन्था, पामारोजा, क्यामामाइल लगायतको जडीबुटी व्यापारीले खरिद गरी युरोपतर्फ निर्यात गर्दै आएका हुन् ।

सात वर्षदेखि सामुदायिक वनले वनको २५ हेक्टर क्षेत्रफलमा गठन गरेको १० वटा समूहमा आबद्ध उपभोक्ताले जडीबुटी उत्पादन गर्दै आएको बागेश्वरी समूहका अध्यक्ष शिवराज अधिकारीले बताए ।

वार्षिक रूपमा जडीबुटी उत्पादन गरेर यहाँका उपभोक्ताले रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । वार्षिक रूपमा लेमनग्रास ८० किलोग्राम, पामारोजा ७० किलोग्राम, मेन्था तीन क्विन्टल र क्यामामाइल ७५ किलोग्राम उत्पादन हुँदै आएको अध्यक्ष अधिकारीले बताए ।
उत्पादित जडीबुटीलाई सामुदायिक वनमा रहेको प्लान्टमा प्रशोधन गरेपछि  काठमाडौँ, बुटवल, नेपालगन्ज र विराटनगरका व्यापारीहरूले खरिद गरेर लैजाने गरेका छन् ।

जडीबुटीबाट उत्पादित तेल, कस्मेटिक सामग्री, सुगन्धित तेल र औषधिका रूपमा प्रयोग हुने भएकाले व्यापारीले यहाँबाट खरिद गरेर जडीबुटीलाई युरोप पुर्याएर बेच्ने गरेको सामुदायिक वनका अध्यक्ष वीरबहादुर रोकायाले बताए ।

सामुदायिक वनमा उत्पादन भएको जडीबुटी प्रतिकिलो रु २० देखि ३५ हजारमा बिक्री हुने गरेको छ । जडीबुटीबाट भएको आम्दानीको २० प्रतिशत सामुदायिक वनलाई र ८० प्रतिशत आम्दानी समूहमा आबद्ध सदस्यहरूले बाँडेर लिने गरेका छन् ।

जडीबुटीबाट आएको आम्दानीबाट यहाँका स्थानीयवासीले आयआर्जन हुने कार्य, घर खर्च र बालबालिकाको विद्यालय खर्चमा लगानी गर्दै आएका छन् । जडीबुटीको आम्दानीको रकम परिचालन गरी यहाँका ३६ जनाभन्दा बढी स्थानीय बासिन्दा स्वरोजगारमूलक कार्यमा संलग्न रहँदै आएका छन् ।

सामुदायिक वनमा गर्दै आएको जडीबुटीखेतीले समूहका सदस्यहरूको आर्थिक अवस्थामा निकै सुधार आउन थालेपछि यहाँका स्थानीयवासीसमेत आफ्नै निजी जग्गामा जडीबुटीखेती गर्न थालेका छन् ।

निजी जग्गामा जडीबुटी लगाउँदै आएका हरिप्रसाद चौधरीले जडीबुटीखेती गरेर वार्षिक रूपमा चार लाख आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाए पनि गाउँकै साथीको सल्लाहमा जडीबुटीखेती गरेका उनले वैदेशिक रोजगारबाट प्राप्त हुने रकमभन्दा बढी आम्दानी हुन थालेपछि जडीबुटीखेतीलाई निरन्तरता दिँदै आएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र  डब्ल्युुटिएलसिपीको सहयोगमा सामुदायिक वनमा दुईवटा जडीबुटी प्रशोधन प्लान्ट जडान गरिएपछि जडीबुटी उत्पादकहरूलाई बजार मूल्य पाउन सहज भएको हो । यस वर्षसमेत हरियो वन कार्यक्रमअन्तर्गत सामुदायिक वनमा अर्को अत्याधुनिक जडीबुटी प्रशोधन गर्ने प्लान्ट राख्ने कार्य भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us