
पर्सा, २५ माघ – पर्साको ग्रामीण क्षेत्रका किसानले पालेको चौपायामा चरचरे रोगको सङ्क्रमण देखिएको छ । एक साताको अवधिमा चरचरे रोगका कारण एउटा भैसी र पाँचवटा गोरु मरेका छन् । गाई, भँैसी, बाख्रा र बङ्गुरमा लाग्ने चरचरे रोगबाट अहिले पनि थुप्रै चौपाया बिरामी परेका छन् ।
चरचरे रोग लागेपछि चौपायमा १०७ देखि १०८ डिग्रीसम्मको ज्वरो आउने, घाँटीको अगाडि र खुट्टाको पछाडिको भागमा रहेको मांसपेशी अस्वाभाविकरुपमा सुन्निने, घाउ भएको ठाउँमा छुँदा चरचर आवाज आउने, पेट फुल्ने, खुट्टा नचल्नेजस्ता लक्षणहरु देखापर्ने पशु चिकित्सकले बताएका छन् ।
यस्ता लक्षण देखापरेको १२ देखि २४ घण्टाभित्रमा पशु मर्ने गरेको पशु चिकित्सकहरु बताउँछन् । क्लोस्टिडिएम चाउभोई ब्याक्टेरियाका कारण पशुहरुमा यस्तो सङ्क्रमण देखापर्ने उनीहरुको भनाइ छ ।
जन्मेको ६ महिनादेखि प्रत्येक वर्ष बिक्यु भ्याक्सिन लगाएमा चरचरे रोगको सङ्क्रमणबाट पशुलाई जोगाउन सकिन्छ । चरचरे रोगको सङ्क्रमण देखापरेको खण्डमा पेन्सिलिनजस्ता एन्टीबायोटिक औषधि प्रयोग गर्न पशु चिकित्सकले सल्लाह दिएका छन् ।
खेतीपातीको बेलामा गोरु मर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् । एक हल गोरु मर्दा ४५ हजारको नोक्सानी हुने गरेको पशुपालक किसानको भनाइ छ ।