काठमाण्डु, माघ– लोग्नेको चितासँगै सति जाने क्रममा जिउँदै जलाइँदै गर्दा त्यहाँबाट भागेर बाँच्न सक्नु विसं १९७७ भन्दा अगाडिको समयका महिलाका लागि निकै कठिन र असामाजिक कार्य मानिन्थ्यो ।
बेथितीका रूपमा रहेका सतीप्रथा र त्यससँग जोडिएका विभेदलाई आजको समाजले बोध गर्ने गरी ‘झोला’ शीर्षकको कथामा उतारेर एक दशकअघि कृष्ण धराबासीले साहित्यिक कृति दिँदा नै यसले चर्चा पाइसकेको थियो ।
सो कथाले उठाएका मार्मिक सवाललाई थप स्थापित गर्ने प्रयासमा यतिबेला ‘झोला’ चलचित्र नै निर्माण भएको छ । श्रीमान्को निधन भएपछि श्रीमतीले उसको चितासँगै जल्नुपर्ने यो कुप्रथा १९७७ साल असार २५ गते राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा विधिवत् अन्त्य गरिएको थियो ।
लोग्नेमान्छे मर्दा श्रीमतीले जल्नुपर्ने र श्रीमती मर्दा लोग्नेले अर्काे श्रीमती ल्याएर सुखभोग गर्ने यस्तो परम्परा हाल कायम नरहे पनि महिला हिंसा र खासगरी एकल महिलाले अहिले पनि समाजको हेलत्व भोगिरहेका छन् ।
चलचित्रकी नायिका गरिमा पन्त (जलमाया)ले सती जानुपूर्व श्रीमानको हेरचाह र घरगृहस्थी गर्दा भोग्नुपरेका पीडा र सती हुनबाट बच्न गरेको संघर्ष र प्रेरणा नै यसको मुख्य सन्देश हो । आफूभन्दा दोब्बर बढी उमेका श्रीमान्का पहिलो श्रीमती बितेपछि उनको कान्छी श्रीमती बनेर भित्रिएकी जलमायाले श्रीमान्को स्वास्थ्यको हेरचाह र सानो छोरा हुर्काउँदा भोग्नुपरेका दुःख र दर्दले अहिलेका ग्रामीण महिलाका समस्यालाई पनि सहजै प्रस्तुत गर्छन् ।
श्रीमान्ले मर्नुअघि ‘तैंले मेरो कारणले धेरै दुःख पाइस्, म मर्दा सती नजानू’ भनेको भए पनि समाज र पण्डितको करबललाई तोड्न नसकी उनी सती जान तयार हुन्छिन् । यहाँसम्म कि लोग्ने मरेको पिर, आफू सती जानुपर्ने अवस्था र कलिलो छोरालाई एक्लै छाडेर जानुपर्ने व्यथालाई सम्झेर उनले धित मर्ने गरी रुन पनि पाएकी हुन्नन् ।
कथानुसार उनी रोएर लोग्नेले पुण्य नपाउने भनिएपछि आँसु थाम्दै शवयात्राको बीचमा दुलही झैं सजिएर सती जान तयार हुन्छिन् । उनका छोराले आमालाई सती हुनबाट जतिसुकै रोइकराए पनि उनको केही लागेन ।
छोरालाई साथ दिने जलमायाकी देउरानीलाई पनि उनका श्रीमानले पुर्खाको प्रचलनलाई रोक्न खोज्दा समाजले पागल भन्छन् भनेर चुप लाग्न सुझाउँछन् ।
खोलाको किनारमा लास जलाउन लाग्दा रात परिसकेको र शव जल्न थालेको आगोको राप र धुवाँको सहायतामा सतीदेवी हुन लागेकी निर्वस्त्र जलमाया खोलामा फाल हालेर भाग्न पुग्छिन् ।
बाबुसँगै आमाको पनि मृत्यु भएपछि छोरा (बालकलाकार सुजन नेपाल) सौतेनी दाइका घरमा हेलत्व सहेर बस्न बाध्य हुन्छ । पढ्ने उमेरमा गोठालो भएर जीवनलाई दैनिकी बनाइरहेका सुजनले एक दिन वनको ओढारमा आफ्नी जलाइएकी भनिएकी आमालाई जिउँदै भेटे । उनले भोलिपल्ट काकी (लक्ष्मी गिरी) को सहयोगमा आमालाई लुगाफाटो र खानेकुरा लगे ।
समाजले देखेमा फेरि जलाइदिने डरले उनीहरु त्यस ओढारबाट फाग्ने तयारी गरिरहेका थिए । त्यही बेला खोलाको किनारमा अर्काे पछ्यौरी जल्दै गरेको र एक महिला सती हुँदै गरेको दृष्य देखिन्छ ।
त्यस दिन दिउँसै भएकाले ती सती हुन लागेकी महिलालाई मलामीले लखेटी लखेटी ढुङगाले हानेर मार्छन् । यस्तो दृष्यबाट भावुक बनेका जलमाया, उनका देउरानी र देवरले भाउज्यूको सङ्घर्षलाई तारिफ गर्छन् तर समाजमासँगै बस्न नसकिने हुनाले जलमायाका आमाछोरालाई बाटो खर्च दिएर परदेशतिर बिदा गर्छन् । सो कथाका लेखकलाई भेट्न आउने कुनै बूढो मानिसले सतीप्रथासम्बन्धी यो कथा लेखकको घरमा छाडिएको ‘झोला’मा फेला पारेका थिए ।
यादवकुमार भट्टराईको निर्देशन तथा उत्तरकुमार श्रेष्ठको प्रस्तुति रहेको सो चलचित्रमा देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, गीता नेपाललगायतको अभिनय छ । कुनै नृत्य, द्वन्द्व वा हास्यविना पनि मार्मिक र हेर्न लायक चलचित्र बन्छ भन्ने दृष्टान्त यो चलचित्रले गरेको छ ।
‘बरु दूध दिन छाडेका थारो गाईलाई नमारेर वनतिर पठाउँछन्, सती जानुपर्ने महिला (आमाहरु) लाई पुरुषले जिउँदै जलाउँछन्, कोरीहरु ।’ भन्ने लक्ष्मी गिरीको संवाद समाजका लागि धारिलो सन्देश हो ।
ऐतिहासिक नेपाली मौलिक चलचित्रका रुपमा आजदेखि देशभरका प्रदर्शनमा आएको ‘झोला’का दर्शक आँखामा आँसु टिल्पिलाएर मात्रै हलबाट बाहिरिन्छन् ।
कुमारी सिनेमा घरमा विशिष्ट नागरिक र विभिन्न पेसाकर्मीका लागि आज आयोजित ‘प्रिमियर सो’ का दर्शकका हकमा पनि यही लागू भयो ।
आफ्ना श्रीमतीका साथ चलचित्र हेरेपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेले कथाकार धराबासीलाई अँगालो हालेर बधाइ दिनुभयो र आफ्नो खुसी व्यक्त गरे ।
‘तपाईँलाई यो चलचित्र कस्तो लाग्यो’ भन्ने प्रश्नमा उनले भने, ‘यो साँचो अर्थमा नेपाली चलचित्र भएको छ, यसले नेपाली जनजीवनको झलक पनि पस्केको छ ।’ पञ्चान्ब्बे वर्षीय कविवर घिमिरे हत्तपत्त कार्यक्रममा निस्कनु हुन्न ।
मनले खाएका र मेहनत गरिएका सिर्जनासम्बन्धी कार्यक्रममा भने पुग्ने गर्नुहुन्छ । उहाँले यसअघि केही वर्ष पहिलो नेपाली चलचित्र ‘पारिजात’ हेरेका थिए ।
कुमारी सिनेमा घरमा एमालेका नेताहरु अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, नेपाली काँग्रेसका सभासद् ध्यानगोविन्द रञ्जित, पत्रकार हरिहर विरहीलगायतको उपस्थिति थियो ।
चलचित्र हेरेका अधिकांश दर्शक आँसु पुछ्दै फर्किरहेका थिए । एक महिलाले ‘म त मेरो बाउ मर्दा पनि रोएको थिइन, महिलाले कहिले पनि रुनु हुँदैन’ भनिरहेकी थिइन् । निश्चय नै नेपाली महिलाले समाजको विभेदबाट रुनु नपरोस्, ‘झोला’ चलचित्रको सार्थकता पनि यही हो । रासस