मृतकका परिवारले अझै राहत पाएनन्

काठमाण्डु टुडे २०७० माघ २२ गते ८:५५ मा प्रकाशित

इलाम, २२ माघ–सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका यस जिल्लाका १३ जनाका परिवारले अझै पनि राहत पाउन सकेका छैनन् । द्वन्द्वमा ज्यान गुमाउने १३८ जनामध्ये १२५ जनाका परिवारले भने जिल्ला प्रशासन कार्यालयबाट राहत बुझिसकेका छन् ।
सो द्वन्द्वमा राज्य पक्षबाट ८९ जना, विद्रोही पक्षबाट ४९ जना र कुन पक्षबाट भनेर खुल्न नआएका चार गरी १३८ जना मारिएका थिए । प्रतिमृतक परिवारले रु तीन लाख राहत बुझेको स्थानीय शान्ति समितिका कार्यालय सचिव राजेन्द्र फियाकले बताए ।
तर मृतक १३ जनाका परिवारको भने कसैको कागजपत्र नमिलेको र कसैको जिल्लाबाट निवेदन नै छानबिन नहुँदा उनीहरु राहत पाउनबाट वञ्चित हुनुपरेको फियाकले जानकारी दिए । मृतकका श्रीमती एकललाई पनि प्रतिव्यक्ति ५० हजारका दरले २५ जनालाई राहत वितरण गरिसकिएको छ । मृतकका छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराइएको शान्ति समितिले जनाएको छ ।
मृतकका ५१ जना बालबालिकालाई प्रावि, निमावि, मावि र उच्च माविमा अध्ययनका लागि क्रमशः रु १० हजार, १२ हजार, १४ हजार र १६ हजारका दरले छात्रवृत्ति वितरण गरिएको बताइएको छ ।
यसैगरी वेपत्ता चार जनामध्ये तीन जनाको परिवारले मात्र राहत पाएका छन् । कटकबहादुर साङ्पाङ, शुक्रराज राई, अमरसिंह राई र गोकुल निरौला अझै वेपत्ता छन् । उनीहरूलाई राज्य पक्षले वेपत्ता बनाएको पीडितका आफन्तले बताए पनि राज्यले भने अझै उनीहरूको बारेमा ठोस प्रमाण दिन सकेको छैन । यीमध्ये आमचोकका शुक्रराज राईका परिवारले प्रशासनबाट राहत लिएका छैनन् । वेपत्ता परिवारले पनि रु तीन लाखका दरले राहत बुझेको स्थानीय शान्ति समितिले जनाएको छ ।
राहत तथा पुनःस्थापना इकाइको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा पीडितलाई राहत प्रदान गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us