अफगानिस्तानको निर्वाचन परिवर्तनको अवसर

काठमाण्डु टुडे २०७० माघ २२ गते ८:१४ मा प्रकाशित

काबुल, २२ माघ–अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचन त्यहाँको परिवर्तनका लागि एउटा अवसर हुनसक्ने विश्लेषण गरिएको छ ।
अफगानिस्तानमा हुन लागेको सो निर्वाचनका एकजना उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले उक्त निर्वाचनलाई अफगानिस्तानको परिवर्तनका लागि एक अवसरका रुपमा प्रयोग गर्न सकिने बताएका हुन । उनले आफ्नो उम्मेदवारीका बारेमा एक टेलिभिजनमा गरिएको वार्ताका क्रममा भने ‘यो निर्वाचन अफगानिस्तानको परिवर्तनका लागि एक अवसर हो, त्यसलाई सबै नागरिकले पनि बुझ्नुपर्ने हुन्छ ।’
अब्दुल्लाहले यसअघि सन् २००९ मा भएको आम निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । उनले उक्त निर्वाचनमा राष्ट्रपति हमिद कारजायीपछि दोस्रो स्थान हासिल गरेका थिए ।
अफगानिस्तानमा आगामी अप्रिल महिनामा राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । ‘निर्वाचनले अफगानिस्तानका जनतामा सुरक्षा र समृद्धि ल्याउने छ’सो टेलिभिजन वार्ताका क्रममा उनले भने ।
सो टेलिभिजन वार्तामा उनीसहित अरु चारजना राष्ट्रपतिका उम्मेदवारको सहभागिता रहेको थियो । उनीहरुले पनि अफगानिस्तानमा सुरक्षा व्यवस्थाको आवश्यकतामा जोड दिएका थिए ।
उनीहरुले सो निर्वाचनपछि अफगानिस्तानमा नेटो सैनिकको उपस्थिति नरहने, तालिवानहरुसँग वार्ता गरिने र देशमा सुरक्षाको मजबुद अवस्थाको निर्माण गरिने बताएका थिए ।
अब्दुल्लाह यस निर्वाचनमा जित हासिल गर्नसक्ने अपेक्षा गरिएका उम्मेदवार हुन । उनले गत शनिबार अफगानिस्तानको हेरात प्रान्तमा गर्न लागेको उनका दुईजना सहयोगीको हत्या भएको थियो ।
ठीक यति नै बेला अफगानिस्तानमा रहेका नेटो सैनिकलाई त्यहाँ सन् २०१४ पछि पनि निरन्तरता दिनुपर्ने भनी अमेरिकाले अघि सारेको प्रस्तावलाई भने अफगानिस्तानले अस्वीकार गरिदिएको छ ।
हाल त्यहाँ एक लाखको हाराहारीमा नेटो सैनिक रहेका छन् । नेटो राष्ट्रहरुमध्ये अमेरिकाबाहेक अरुले भने यसै वर्षको अन्त्यसम्ममा त्यहाँबाट स्वदेश फिर्ता गइसक्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
तर अमेरिकाले भने सो समयपछि सम्म पनि अफगानिस्तानमा सेना रहनसक्नेगरी एउटा सुरक्षा सम्झौता तयार पारेको छ । तर त्यसलाई त्यहाँको सरकारले हस्ताक्षर गर्न मानिरहेको छैन । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us