१ सय जनाको सामूहिक व्रतबन्ध

काठमाण्डु टुडे २०७० माघ २१ गते १०:२१ मा प्रकाशित

bratabandhaनुवाकोट, संस्कार र परम्परा धान्नका लागि महँगीले सर्वसाधारणलाई असहज बनाउँदै लगेको समयमा विद्यालयले सञ्चालन गरेको सामूहिक ब्रतबन्धबाट सयौं लाभान्वित भएका छन् ।

विदुर नगरपालिका ७ देवीघाटस्थित सहिद जगतप्रकाशजंग शाह संस्कृत माविले आर्थिक रुपले सहज ढंगबाट चूडाकर्म गराउन भन्दै सञ्चालन गरेको सामूहिक व्रतबन्धबाट १ सय ३६ जना लाभान्वित भएका छन् ।

आर्थिक रुपमा समेत कमजोर रहेको संस्कृत विद्यालयले आर्थिक स्रोत जुटाउन  र सर्वसाधारणलाई सस्तोमा चूडाकर्म गराउने उद्देश्यले सामूहिक व्रतबन्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए ।

नीलकण्ठ कैलाशधाममा भएको व्रतबन्धमा ब्राह्मण, क्षेत्री, नेवार र कुमाल समुदायका वटुकलाई ज्योतिषी र  पण्डितले  मन्त्रदान दिएका थिए । लाखौं रुपैयाँ खर्च हुने व्रतबन्ध अर्थात चूडाकर्ममा सानो रकमले काम बन्ने भएपछि सामूहिक व्रतबन्धमा धनीगरिब सवैको आकर्षण बढेको ढिकुरेबाट आफ्ना भाञ्जाको व्रतबन्ध गराउन आउनुभएका माधव लामिछानेले बताए ।

यस वर्ष प्रतिबटुक दुई हजार पाँच सय लिएर व्रतबन्ध गराइएको छ । तोकिएको शुल्क विद्यालयलाई तिरेपछि विद्यालयका तर्फवाट बटुकका लागि एक जोर धोती, बटुक र अभिभावकलाई खानपिनको व्यवस्थासमेत गराइएको थियो । सामूहिक व्रतबन्धमा सहभागी हुन नुवाकोटको अलाबा रसुवा र धादिङ जिल्लाबाट समेत बटुक आएका थिए ।

विसं २०५५ मा संस्कृत विद्यालय स्थापना भएपछि हरेक वर्ष विद्यालयले सामूहिक व्रतबन्ध गराउँदै आएको छ ।

जिल्लाको एक मात्र संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएपछि स्रोत जुटाउन थालिएको सामूहिक व्रतबन्धबाट अहिलेसम्म रु एक हजार सात सयभन्दा बढीले लाभ लिइसकेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकृष्ण भट्टले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us