खर काट्न जाँदा बाघले ज्यान लियो

काठमाण्डु टुडे २०७० माघ २१ गते ४:१५ मा प्रकाशित

tigerचितवन, २१ माघ – चितवनको जगतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गाउँका साथीहरुसँगै राप्ती नदी किनारमा खर काट्न गएका गुञ्जानगर–७ जीतपुरका अन्दाजी ४३ वर्षीय एकबहादुर तामाङलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

समूहभन्दा अलिपर गएर खर काट्दै गरेको अवस्थामा उनलाई एक्कासि बाघले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्र्दैै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको मध्यवर्ती क्षेत्रमा पछिल्लो समयमा वन्यजन्तुको आक्रमण बढेको स्थानीयले बताएका छन् । गैँडा, बाघ र हात्तीको आक्रमणमा बढी मानिसको ज्यान जाने गरेको छ ।

अघिल्लो महिना चितवनको गीतानगरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । माघ पहिलो साता जगतपुरमै गैँडाको आक्रमणबाट सानु विक गम्भीर घाइते भएकी थिइन् ।

यसअघि चितवन मङ्गलपुरमा पुस अन्तिम साता गैँडाको आक्रमणबाट मङ्गलपुर–८ निवासी ४५ वर्षीय बुद्धिमान थापाको मृत्यु भएको थियो । यहाँका विभिन्न सामुदायिक वनमा गैँडा र बाघको बासस्थान बढ्दै गएकाले पछिल्लो समयमा सामुदायिक वन आसपासमा समेत मानिसमाथि वन्यजन्तुको आक्रमण बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us