वीरगन्ज घण्टाघर सञ्चालनमा आउने

काठमाण्डु टुडे २०७० माघ २१ गते ३:३१ मा प्रकाशित

View-clock-tower-Birgunjपर्सा, २१ माघ – मर्मत सम्भारको अभावमा दशकौँदेखि बन्द रहेको वीरगन्जको घण्टाघर पुनः सञ्चालनमा आउने भएको छ ।

घण्टाघरको मर्मत सम्भार तथा रेखदेखको जिम्मेवारी पाएको नेपाल टेलिकमले बन्द रहेको घण्टाघरको घडी मर्मत सम्भारको सम्पूर्ण कार्य पूरा गरेकाले अबको दुई दिनमा घडी चल्ने पक्का भएको हो ।

वीरगन्जको परिचयका रुपमा रहेको ‘वीरेन्द्र प्रभात घडी’ र घण्टाघर मर्मत र रेखदेखका लागि भन्दै एक दशकका लागि वीरगन्ज उपमहानगरपालिकाले नेपाल टेलिकमलाई करारमा दिएको थियो ।

सोही करारअनुसार घण्टाघरको घडी सञ्चालनमा ल्याउन थालेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयले जनाएको छ । ‘वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको ‘वीरेन्द्र प्रभात घडी’ बनाउने र घडीजडित घर (घण्टाघर) रेखदेख गर्ने जिम्मा नेपाल टेलिकमले पाएअनुसार वीरगन्जको घण्टाघरमा समयसूचक यन्त्र (घडी) जडान हुँदैछ,’ नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय वीरगन्जका क्षेत्रीय निर्देशक रवीन्द्र झाले भने, ‘सम्भवतः अब केही दिनभित्रमा नै यो घडी चल्छ ।’

नेपाल टेलिकमले आह्वान गरेको बोलपत्रमा पर्न सफल कन्सिस्टेन्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक हृदयराज गौतमले घण्टाघरमा धूनसहितको नयाँ घडी जडान गर्न विदेशबाट पाटपूर्जा मगाइएको बताए ।

जापानका विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचतबाट नेपाललाई उपहारका रुपमा दिएको वीरगन्जस्थित घण्टाघरको घडी एक दशकभन्दा लामो समयदेखि बन्द थियो ।

नगरपालिकाले चाहेर पनि आर्थिक कारणले सञ्चालनमा ल्याउन नसकेपछि गत असार २८ गते नेपाल टेलिकमलाई बिग्रिएको घडी बनाउने र घण्टाघरको मर्मत सम्भार गर्ने भनी १० वर्षका लागि करारमा दिएको थियो ।

करारमा नेपाल टेलिकमले घण्टाघरको घडी मर्मत गर्ने, टेलिकमले घडी सञ्चालन गरेको १० वर्षसम्म घण्टाघर परिसरमा कम्पनीको श्रव्य विज्ञापन तथा अन्य विज्ञापन राख्ने, घण्टाघर सञ्चालनका लागि आवश्यक विद्युत् टेलिकमले उपलब्ध गराउनेलगायतका १६ बुँदा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us