सीमा नाकामा नेपालीलाई सास्ती

काठमाण्डु टुडे २०७० माघ २१ गते २:१० मा प्रकाशित

कैलाली, २१ माघ – भारतबाट सामान किनेर नेपाल भित्रिने नेपालीबाट गौरीफन्टा सीमा नाकामा भारतीय प्रहरीले मनोमानी रुपले पैसा असुलिरहेका छन् ।

भारतीय बजार गौरीफन्टा र पलियालगायत आसपासका बजारबाट दैनिक उपभोग्य सामान किनमेल गरेर आउने क्रममा सीमा नाकामा बस्ने भारतीय प्रहरीले मनोमानी पैसा असुल्ने गरेको नेपालीको भनाइ छ । ‘कि पैसा देऊ, नत्र सामान दिन्न भन्दै सामान खोस्छन्’, कैलालीको तेघरीकी सुनिता भण्डारीले भनिन्, ‘एक हजारभन्दा बढीको सामान हुन्छ । सामान कसरी छोड्नु ? त्यसैले बाध्य भएर पैसा दिनुपर्छ ।’

सुनिता भारतीय बजार गौरीफन्टाबाट दाल, चिनीलगायतका दैनिक उपभोग्य सामान खरिद गरेर नेपाली बजार धनगढी, अत्तरियालगायतका ठाउँमा बिक्री गर्छिन् । किलोमा पाँच दस रुपैयाँ बढी लिएर बिक्री गर्ने उनी एकपटकमा कम्तीमा ५० रुपैयाँ त भारतीय प्रहरीको हातमा थमाउने गरेको बताउँछिन् ।

परिवारको गुजाराको अरु कुनै माध्यम नभएपछि भारतबाट पिठ्यूँमा भारी बोकेर नेपाली बजारमा बिक्री गरी दिनमा डेढ दुई सय कमाउने सुनिता दिनमा उल्टै ५० देखि १०० भारतीय प्रहरीलाई बिना रसिद दिनुपरेको गुनासो गर्छिन् ।

साँझ बिहान हातमुख जोर्नकै लागि भारतीय बजारबाट सामान खरिद गरी नेपाली बजारमा बिक्री गर्दै आएकी कैलालीको अत्तरियाकी सरस्वती बोहरा पनि भारतीय प्रहरीको मनोमानी रकम असुल्ने बानीले हैरान छिन् । ‘कहिलेकाहीँ पैसा नदिँदा भारतीय प्रहरीले खुट्टासमेत छुन लगाउँछन्’, सरस्वतीले भनिन्, ‘कामको खोजी गर्ने क्रममा यस्तो काम गर्न पुगियो । भारतीय प्रहरीले नेपाली भन्दै साह्रै हेपेका छन् ।’

धनगढीको क्याम्पस चोक बस्ने विनोद चौधरीले पनि गौरीफन्टा सीमा नाकाका भारतीय प्रहरीले रसिद नै नदिएर पैसा माग्ने र रसिद देउभन्दा दुव्र्यवहार गर्ने गरेको गुनासो गरे ।

साइकलमा एक पटकमा १०/१५ किलो सामान बोेकेर धनगढीका पसलमा बिक्री गरी घर खर्च र बालबच्चाको पढाइ खर्च जुटाउँदै आएका विनोदले भारतीय प्रहरीको मनोमानी व्यवहार खेप्न आफूहरु बाध्य भएको दुःखेसो पोखे ।

‘नेपालमा मजदुरी गर्न पनि सधैँभरि काम पाइँदैन । जसोतसो गुजाराका लागि भारतीय बजारसम्म पुग्छु तर प्रहरीको रबैया देखेर वाक्क लाग्छ’ विनोदले भने, ‘भारतीय सीमा नाकामा नेपालीमाथि भइरहेको दुव्र्यवहार रोक्न नेपालको प्रशासनको पहल गर्नैपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us