तेस्रो दिनपनि अलेपोमा हवाई हमला

काठमाण्डु टुडे २०७० माघ २० गते ७:४४ मा प्रकाशित

काठमाण्डु, २० माघ – सिरियाको अलेपो सहरमा आइरतबार पनि जारी रहेको हवाई आक्रमणका क्रममा सयौं नागरिक मारिएका बताइएको छ । सो आक्रमण आइतबार रातिसम्म नै जारी रहेको थियो ।

प्राप्त समाचारमा आइतबार सिरियाली सेनाले हवाई हमला गर्दा त्यसमा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ । केही दिनयता बन्द रहेको सो क्षेत्रको हमला पुनः सुरु भएको अधिकारीहरुले बताएका छन् । त्यसको अघिल्लो दिन अथवा शनिबार पनि सो स्थानमा हमला भएको थियो । उक्त हमलामा परी मारिनको सङ्ख्या ४८ रहेको पनि अधिकारीहरुले बताएका थिए ।

अलेपो सहर सिरियामा द्वन्द्व जारी भएपछिकै सबैभन्दा बढी हिंसा भएको सहर हो । उक्त सहरलाई केही समयसम्म सिरियाका विद्रोहीले कब्जामा लिएका थिए ।
पछि फेरि सरकारी सेनाले नै आफ्नो नियन्त्रणमा लिएको थियो ।

सिरियामा जारी रहेको हिंसाका क्रममा एक लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । अलेपोमा गत तीन दिनदेखि जारी रहेको सो हिंसामा सरकारी सेना र विद्रोही सेनाका बीचमा दोहोरो भिडन्त भएको थियो । उक्त भिडन्तमा परी सोमबार पनि केही नागरिक हताहति भएको अनुमान गरिएको छ ।

उक्त सहरमा जारी आक्रमणबाट अरुपनि कयौँ नागरिक घाइते भएका बताइएको छ । तर विद्रोहीले भने सरकारी सेनाले सर्वसाधारणलाई लक्ष्यगरी हमला गरेको र त्यसमा परी सयौँजना मारिएको बताएका छन् ।

यसैबीच सिरियामा करिब तीन महिनादेखि जारी गृहयुद्धमा परी कम्तीमा एक लाख ३६ हजार व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । त्यहाँका राष्ट्रपति बसासर अल असादका विरुद्धमा जारी रहेको सो हिंसामा ज्यान गुमाउनेमा सर्वसाधारण नागरिक बढी रहेका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राईटस्काअनुसार सिरियामा जारी द्वन्द्वको कारण गत जनवरीको अन्त्यसम्म एक लाख ३६ हजार २२७ व्यक्तिको ज्यान गइसकेको छ । तरपनि यसरी तथ्याङ्कमा नै नआएका व्यक्तिको सङ्ख्या अरु धेरै रहेको बताइएको छ । ह्युम्यान राईटस्का अनुसार यो तथ्याङ्कभन्दा कयौँ बढी मात्रामा मृतकको सङ्ख्या बढी रहेको अनुमान छ ।

सन् २०११ को मार्चदेखि सुरु भएको यस द्वन्द्वको क्रममा बालबालिका र बृद्धबृद्धाहरुको पनि हत्या हुने गरेको छ । कयौँ व्यक्ति मारिएको सो द्वन्द्वको समाधानका लागि हालैमात्र स्वीट्जरल्यान्डमा भएको भनिएको वार्तापनि विना कुनै निष्कर्ष सकिएको छ ।

राष्ट्रपति बसार अल–असादको विरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका प्रदर्शनकारी माथि सरकारी दमन सुरु भएपछि सिरियाली द्वन्द्व चर्किदै गएको बताइएको छ । यस द्वन्द्वका कारण ठूलो सङ्ख्यामा व्यक्तिहरू घाइते भएका र दशौँ लाख व्यक्ति द्वन्द्वबाट प्रभावित भई स्वदेश र छिमेकी देशहरूमा शरणार्थीको रुपमा विस्थापित समेत भएका जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us