एमाले केन्द्रीय समिति बैठक निष्कर्षविहीन

काठमाण्डु टुडे २०७० माघ २० गते ८:५५ मा प्रकाशित

uml officeकाठमाण्डु, २० माघ – संसदीय दलको नेता चयनमा सहमति जुटाउन बसेको एमाले केन्द्रीय समिति बैठक विनानिष्कर्ष टुंगिएको छ ।

पार्टी अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीले दावी नछाडेपछि बैठक निष्कर्षविहीन भएको हो ।

सोमबार पार्टी मुख्याल बल्खुमा बसेको केन्द्रीय समिति बैठकमा संसदीय दलको नेतामा अध्यक्ष खनाल र नेता ओलीको नाममा प्रस्ताव पेश भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष खनाल र उपाध्यक्ष बामदेव गौतमले नेता ओलीको नाम प्रस्ताव गरेका हुन् ।

दुबै नेता आफ्नो अडानबाट टसको मस नभएकाले सहमतिको सम्भावना नदेखिएको स्रोतले जनाएको छ । सहमति  जुट्न नसकेमा मंगलबार चुनाव हुनेछ । यद्यपी अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरिने एमाले नेताहरुले बताएका छन् ।

संसदीय दलको नेतामा देखिएको किचलोसँगै एमालेमा नयाँ समीकरण देखा परेको छ । लामो समय पार्टीभित्र प्रतिपक्षीका रुपमा चिनिने ओली र उपाध्यक्ष बामदेव गौतमबीच गठबन्धन भएको छ ।

उनीहरुले आइतबार आफू पक्षधर केन्द्रीय सदस्य र सभासदहरुको संयुक्त भेला गरी गठबन्धनलाई अन्तिम रुप दिएका छन् ।  ओली–नेपाल गठबन्धनप्रति अध्यक्ष खनाल र वरिष्ठ नेता माधव नेपाल आक्रोशित बनेका छन् ।

सर्वसम्मतिका आधारमा संसदीय दलको नेता चयनका लागि प्रयास भइरहेका बेला पार्टी एकता कमजोर पार्ने प्रयास स्वरुप नयाँ गठबन्धन जन्मिएको निष्कर्ष संस्थापन र नेपाल पक्षको छ ।

आसन्न नवौं महाधिवेशनमा अध्यक्षमा सघाउने सर्तमा नेता नेपाल अध्यक्ष खनाललाई संसदीय दल नेतामा सहयोग गर्न तयार देखिएका छन् । संगठनमा पकड रहेका भनिएका महासचिव ईश्वर पोखरेल पनि खनाल–नेपाल पक्षमा रहेकाले सो समूह ओली–गौतम गठबन्धनभन्दा केही बलियो देखिएको छ ।

नेपाल र ओली आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने दाउमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us