युरोपेली संघको मिसनले काम थाल्यो

काठमाण्डु टुडे २०७० माघ १९ गते १२:५३ मा प्रकाशित

nepal-airlinesकाठमाण्डु, १९ माघ– हवाई सुरक्षा सुनिश्चित गर्ने सम्बन्धमा सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) कोअर्डिनेटेड भ्यालिडेसन मिसन्स (आइसिसचएम)ले औंल्याएका विषयमा भएका सुधारको अनुगमन गर्न नेपाल आएको युरोपेली संघको मिसनले काम थालेको छ ।

युरोपेली आयोग, युरोपेली उड्डयन सुरक्षा निकाय (इएएसए) र सदस्य मुलुकले नेपालको स्थलगत निरीक्षण गरी नेपालका प्रमुख हवाई सेवाप्रदायक कम्पनी र विमान तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमतालगायत विषयको मूल्याङ्कन गर्न शनिबार छ सदस्यीय मिसन नेपाल आएको हो ।

नेपालको हवाई सेवा प्रणालीमा सुरक्षाको भरपर्दो व्यवस्था नभएको गभ्मीर विषय औँल्याउँदै युरोपेली संघले नेपालबाट सेवा प्रवाह गर्ने वायुयानलाई कालोसूचीमा राखेको सन्दर्भमा सुधार भए÷नभएको अनुगमन गर्न साताव्यापी कार्यक्रम लिएर आएको मिसनले काम प्रारम्भ गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए ।

सरकारले हवाई सुरक्षालाई सर्वाधिक प्राथमिकता दिएको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई कठोरताका साथ पालना गराउन प्रतिबद्ध रहेको र क्रमशः सुधार गर्दै जाने आशयको पत्र पठाएपछि वस्तुस्थिति बुझ्न संघका वरिष्ठ अधिकृत ओभिङ हलक्विस्ट नेतृत्वको मिसनले काम थालेको उनले जानकारी दिए ।
नेपालका विमान कालोसूचीमा परेपछि उड्डयन प्राधिकरणले सुरक्षा जाँचबुझ र घटनाबाट प्राप्त सुझाव कार्यान्वयन, सुरक्षा निरीक्षकले प्रभावकारी अनुगमन गर्ने अधिकारका लागि नागरिक उड्डयन नियमावली संशोधन, नयाँ हवाई सेवा सञ्चालक प्रमाणपत्र प्राप्तिका लागि पूरा गर्नुपर्ने प्रावधानअनुरूप हवाई सेवा सञ्चालक प्रमाणपत्रबाहक संस्थाको संस्थागत मूल्याङ्कन गरिसकेको छ ।

संघले औँल्याएका सुधारका क्षेत्रमा विमान नियन्त्रणको अधिकार उड्डयन प्राधिकरणका महानिर्देशकमा प्रत्यायोजन गरिएको, सुरक्षा व्यवस्थापनसम्बन्धी पद्धतिगत आवश्यकता लागू गरिएको तथा उक्त पद्धतिअनुसार सबै विमान सञ्चालकले गर्नुपर्ने काम, चराचुरुङ्गी र वन्यजन्तुका कारण उत्पन्न हुने सुरक्षा जोखिम घटाउन उपकरण जडानको अनुगमन मिसनले गर्नेछ ।

हवाई सुरक्षा सुनिश्चितासम्बन्धी दक्षिण एसियाली क्षेत्रीय प्रयास (एसएआरआई)कार्यक्रम मार्फत इएएसएसँग सहकार्य गर्दैै प्राधिकरणले नागरिक उड्डयन सेवाप्रदायक तथा समग्र उड्डयन क्षेत्रको सुरक्षा सुदृढ तुल्याउन सुरक्षा व्यवस्थापन प्रणाली स्थापना स्थापना गर्नाका साथै त्यसलाई कडाइका साथ कार्यान्वयन भइरहेको जानकारी प्रवक्ता सापकोटाको भनाइ थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम (युएसओएपी) ले निर्धारण गरेका मापदण्डको अक्षरशः पालनाका निम्ति अल्प, मध्य र दीर्घकालीन योजना तयार गरी त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा सरकार रहेको र सुरक्षाका विषयमा कुनै किसिमको सम्झौता नगर्ने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्राधिकरणका वरिष्ठ प्राविधिक, विमान सञ्चालक कम्पनी तथा अन्य सरोकारवालासँग मिसनले छलफल गरिरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us